तीन दर्जनभन्दा बढी विद्यालयको खाता अझै रोक्का

दमौली, २६ असोज । जिल्ला शिक्षा कार्यालय तनहुँले गत वर्षको भौतिक पूर्वाधार कार्यक्रमअन्तर्गतको काम समयमै पूरा नगर्ने तीन दर्जनभन्दा बढी सामुदायिक विद्यालयको खाता अझै रोक्का गरेको छ ।

कार्यालयका शव इन्जिनियर शम्भु पौडेलले भौतिक पूर्वाधारको काम समयमै पूरा नगर्ने ती विद्यालयको खाता अझै रोक्का रहेको जानकारी दिनुभयो ।

असार मसान्तसम्ममा काम सकेर आउन भनिए पनि अहिलेसम्म पूर्वाधारको काम पूरा नगर्ने ती विद्यालयको खाता रोक्का गरिएको हो उहाँले भन्नुभयो ।

पुराना १० वटा र नयाँ योजना पाएका २० वटा विद्यालयले काम पूरा नगरेको उहाँले बताउनुभयो । असोज मसान्तसम्ममा काम सकेर नआउने विद्यालयका प्रधानाध्यापकको दसैँको समेत तलब रोक्का गरिने सो कार्यालयले जनाएको छ ।

गत वर्ष भौतिक पूर्वाधार कार्यक्रमका लागि सवा चार करोड रुपैयाँ बराबरको कार्यक्रम वितरण गरिएको थियो । जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठले भौतिक पूर्वाधारको काम सम्पन्न नगर्ने ती विद्यालयको खाता रोक्का गरिएको जानकारी दिनुभयो ।

अघिल्लो आवमा पनि भौतिक पूर्वाधार निर्माणको काम समयमै पूरा नगर्ने पाँच दर्जन बढी विद्यालयको खाता त्यसरी नै रोक्का गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।