लम्पसारवाद : राम आचार्य पुष्प प्रेमी (कविता )
कपन अनलाइन
काठमाण्डौ,भाद्र २८।
ओ… साथी !
तिमी अनि म जस्ता
मान्छे देशको स्वतन्त्र
नागरिक कि
नेताको बँधुवा मजदुर ?
एउटा निर्जीव बस्तुसरह
जनता उपमाले बिभूषित
निरिह नेपाली,
सार्वभौम देशको नागरिक हौं
या उसको खेलौना ?
बिचारको अनुयायी कि
सिद्धान्तको उपासक ?
विचार मिल्दैमा
सिद्धान्त मन पर्दैमा
चाकडीमा गर्दैमा
भोट हाल्दैमा
किन लम्पसार ?
घरमा आफ्ना बा हुँदा हुँदै
कसरी नेता तिम्रा बा भए ?
एकपटक आफ्नी आमालाई सोध,
कहिले तिम्री आमालाई
स्वयम्बर गरेर भित्राएका थिए ? भनेर,
कहिले कन्यादान लिएका थिए ?
कतिबेला तिम्री आमाको सिउँदोमा
सिंदुर हालेको थिए ? र
पोते पहि¥याएका थिए ?
नत्र कसरी बा ?
घरका बाको स्वभिमान र
पुरुषोत्वको अपमान गरेर
आमाको अस्मिताको हुर्मत लिन
एकरति लज्जाबोध हुन्न हगी ?
तिमीले त केवल
एउटा बिचारलाई
अनुसरण गरेको मात्र हो
आबद्धता मात्र हो
भोट मागेको र दिएको मात्र हो ।
त्यसकारण
यति त बुझ
तिमी कार्यकर्ता होला
तर दास होइन
उनका छोरा÷छोरी चाहिँ होइन ल ?
नेता नै तिम्रा बा हुन भने
घरका बालाई के भन्छौ ?
झट्केला बा ?
आफ्नी आमालाई कुन ईज्जतले
सम्बोधन गर्छौ ?
के भनेर सम्झाउछौ ?
नारी स्वतन्त्रता र अधिकारको
झ्याली पट्छौ
नागरिक अधिकारको ताली ठोक्छौ
तर
आफ्नो बा र पराई बालाई चिन्दैनौ र
नेतालाई बा भन्छौ ?
तिमी जस्ता अधम सन्तान
जन्माएर असली बा बन्न
खोज्नु अभिषाप छ घरका बाहरूलाई ,
तिम्रा बा (नेता) हुन् भने
किन राख्छौ घरमा बा ?
सतिसावित्री तिम्री आमाको
मातृत्वको कसरी रक्षा गर्छौ ?
नेता भनेको
आस्था र बिचारको
संवाहक मात्र हो
न ईश्वर हो
न त बा नै हो,
भ्रमको जालोबाट निस्क अब
आफुलाई चिन
देशलाई चिन
माटोलाई मायाँ गर
अनि साश्वत बा र आमाको
सम्मान र कदर गर्न सिक ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
