संयमित हुन प्रशासनको आग्रह
लुम्बिनी (रुपन्देही), १९ असोज । रुपन्देहीको बेलहिया नाकामा सोमबार भएको घटनालाई लिएर स्थानीय प्रशासनले सरोकारवालासँग परामर्श गरेको छ ।
आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले भारतीय भूमिमा बसेर हानेको ढुङ्गा लागेर प्रहरी नायब उपरीक्षकसहित आठ प्रहरी र केही सर्वसाधारण घाइते भएपछि जिल्ला प्रशासन कार्यालयले आज सरोकारवालासँग छलफल गरेको हो ।
रुपन्देहीका प्रजिअ विष्णुप्रसाद ढकालले नागरिक समाज, सिद्धार्थ उद्योग वाणिज्य सङ्घ र बेलहियावासीलाई बोलाएर छलफल गर्नुभएको हो । उहाँले आन्दोलनले उग्ररुप लिएकामा चिन्ता व्यक्त गर्दै संयमित हुन बेलहियावासीलाई आग्रह गर्नुभयो ।
प्रजिअ ढकालले आन्दोलनकारीले भारतीय भूमि प्रयोग गरेर नेपाल प्रहरी र स्थानीय जनतामाथि ढुङ्गा हानेको घटनाप्रति आपत्ति जनाउँदै आन्दोलनकारीलाई नउक्साउन बेलहियाबासी र उद्योगी, व्यापारीलाई आग्रह गर्नुभयो । उहाँले आन्दोलनलाई हिंसात्मक नबनाउन र नाकामा अवरोध नगर्नसमेत आन्दोलनरत पक्षलाई आग्रह गर्नुभयो ।
मोर्चाको अवरोधका कारण बेलहिया नाकाबाट सोमबार मध्याह्नपछि कुनै पनि मालवाहक गाडी नेपाल प्रवेश गर्न सकेका छैन । सामान बोकेर नेपाल प्रवेश गर्न खोजेका मालवाहक गाडी भारतमै रोकिएपछि इन्धनलगायत दैनिक उपभोग्य वस्तुको यहाँ चर्को अभाव भएको छ ।
यसैबीच, भारत सरकारले आपूर्तिमा कुनै अवरोध नहुने जनाउ दिएपछि मधेसी मोर्चाले नाका केन्द्रित आन्दोलनलाई कडा बनाएको थियो । रासस