भगवान् : प्रा.डा. खेमराज खनाल (लघुकथा)
कपन अनलाइन
काठमाडौं , भाद्र ७।
मङ्गली मन्दिरबाहिर कराइरहेकी थिई, “हजुर, गरिबलाई दया गर्नुहोस् ।”
सुवर्णसिंह सरासर भित्र गयो । मन्दिर भिड थियो । पुजारीलाई पाँच सय दियो । भीआइपी ढोकाबाट भित्र पस्यो । देउतालाई सुनको प्रतिमा चढायो । पुजारी खुसी भयो । सुवर्णसिंहको मनोकामना पुरा भएन । देउताप्रति विश्वास उड्यो ।
शङ्कर मन्दिर गयो ।उसले फल, फूल र चामल बोकेको थियो । मन्दिर उस्तै भिड रहेछ । पुजारीलाई चढाउने पैसा थिएन । साइनबोर्डमा लेखिएको थियो, “भगवान् सबैतिर छन् । हृदयले हेर ।”
मङ्गली कराइरहेकै थिई । शङ्करले उसैलाई फल, फूल र चामल दियो । मङ्गलीको बिरामी लोग्ने र बालख छोरालाई दुई छाक जोहो भयो । भगवान् साह्रै खुसी भए । शङ्करको मनोकामना पुरा भयो । साइनबोर्डको भनाइप्रति विश्वास लाग्यो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
