गाउँमा : गोपालकुमार मैनाली (कविता )
कपन अनलाइन
काठमाडौं , भाद्र ७।
घाँस दाउरा गर्नुपर्छ स्कुलबाट आएर
गृह कार्य गर्ने फुर्सद भात खाएर ।
पानी पर्दा स्कुल छुट्टी छानो चुहेर
छिटो छिटो हिँड्नु हुन्न खुट्टा कुहेर
नजानेको सिकाइदिने कोही भएनन्
तुइनचढी स्कुल जान तयार भएनन्
एसइइमा फेल हुने रहर कसको हुन्छ र
गाउँघर को स्कुलमा पढाई कहाँ हुन्छ र
सहरका स्कुल पढ्ने जागिरे र डाक्टर
गाउँको स्कुल पढाउन छैनन् योग्य मास्टर ।
भित्र बाहिर बढार्न अम्लीसो को कुचो छ
बहिनी साह्रै ज्ञानीछे भाइ अलिक छुच्चो छ ।
भाइ निकै अटेरी छ, बहिनी केही फाल्दिन
बजारबाट किन्नुपर्छ फोहोर हाल्ने बाल्टिन ।
कुहिने र नकुहिने छानीछानी हाल्नलाई
दुई रङका बाल्टी हाम्रा फोहोर फाल्नलाई ।
दुई बाल्टी स्कुलका फोहोर मलाई भन्दैछन्
कति फोहोर भयो भनी पोका गन्दैछन् ।
सिट्टी बजाई फोहर लिन आउँछन् घर घर
सफा घरमा डेङ्गु बिमार भाग्छन् परपर ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
