आफ्नो भो थाछैन : भिमकुमार राउत (कविता )
कपन अनलाइन
काठमाडौं , भाद्र ७।
आगो छ चिसो हिउँले पोल्छ बतास जम्दछ
ढुङ्गा लौ बग्छ छङ्छङि गर्दै पानी चै भिज्दछ
पहाइ छ सम्म, कठिन पर्छ मैदान चढ्नलाई
पछाडि हिंडे सहज होला अगाडि बढ्नलाई ।
खोलाको पानी खोलाले खान्छ बगर सुसेल्छ
गिट्टी र बालु उद्धार हेतु टिप्पर कुद्या छ
वनको बह बुझेरै होला बन्चरो चल्दछ
भिउँटे भुंडी भरूँला भनी वृक्षादी ढल्दछ ।
नसामा डुब्ने होसमा हुन्छन सज्जन बेहोस
विकास आफैं खल्तीमा पस्छ उनीको के दोष ?
लासको यहाँ शासन चल्छ जिउँदो जल्दो छ
बारी न बोट, स्याउ सुन्तला कार्टून्मै फल्दो छ
कानुन्को काम जनतालाई पार्दिने अल्मल
दिनमा घाम लाग्दैन यहाँ रातमा झल्मल
गदाहा उडछ पखेटा हाल्दै बस्ती र नाकामा
भेडाले हाल्छ सुरिलो स्वर गिडगिडे भाकामा
विरामी यहाँ डाक्टर बन्ने डाक्टर विरामी
नपढे विद्वान् पढेकाहरू गनिन्छन् बेकामी
मन्त्रीको काम पिएले गर्ने हाकिमको पिउन
अरुका काम सबैले जान्ने आफ्नो भो था छैन् ।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
