मुक्तक : अरुणबहादुर खत्री ‘नदी’

मुक्तक :  अरुणबहादुर खत्री ‘नदी’

कपन अनलाइन

काठमाडौं , भाद्र ७।

म आगो हुँदा तिमी पानी भए झनै राम्रो
म छुच्चो हुँदा तिमी दानी भए झनै राम्रो
भन किन देखाउने गछर््यौ नौटङ्गीपन सधैँ
म कवि हुँदा तिमी कवयत्री भए झनै राम्रो ।

मायाको मोलतोल र भाउ खोज्दैछन् मान्छेहरू
अहंकार र सम्मानको दाउ खोज्दैछन् मान्छेहरू
बिना कारण हामीबाट किन हो टाढा हुंदै गइरहेछन्
घमण्डले आफैं ठूलो नाउ खोज्दैछन् मान्छेहरू ।

तिमीसँग मनभित्रका कुरा गर्नै बाँकी छ
सुन्दर सपना सजाएर जिउनै बाँकी छ
मात्र होस् ढुकढुकीको हलचल मन्द मन्द
नशालु प्याला भरेर पिउनै बाँकी छ ।

फूल हाँस्दा खेरी तिमी पनि हाँस्ने गर
मयूर नाँच्दा खेरी तिमी पनि नाँच्ने गर
मेरो मुटु चल्छ मात्र नजर तिमीले दिए
म बाँच्न सके भने तिमी पनि बाँच्ने गर ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।