युवा संघ नेपालले सह–संयोजक संजीव राईसँग लिखित स्पष्टीकरण माग्यो

युवा संघ नेपालले सह–संयोजक संजीव राईसँग लिखित स्पष्टीकरण माग्यो

कपन अनलाइन

काठमाडौं , भाद्र ४ ।

युवा संघ नेपालको केन्द्रीय अनुशासन आयोगले सह–संयोजक संजीव राईसँग लिखित स्पष्टीकरण पेस गर्न माग गरेको छ। आयोगका अध्यक्ष विकल के.सी.ले भाद्र ३ गते जारी गरेको पत्रमार्फत तीन दिनभित्र जवाफ दिन आग्रह गरेका हुन्।

पत्रअनुसार गत चैत १७ गते तत्कालीन इनचार्ज लक्ष्मण के.सी.को सिफारिसमा नयाँ राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गरी अपानी जारी गरेको थियो। सोही समितिमा संजीव राईलाई सह–संयोजक तोकिएको आयोगले स्पष्ट गरेको छ। तर, भाद्र १ गते बसेको केन्द्रीय कार्यालय समितिको बैठकले राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न स्थायी समिति गठन गर्ने निर्णय गरिसकेको अवस्थामा आयोगको निर्णय विपरीत गतिविधि भएको भन्दै राईलाई प्रश्न गरिएको हो।

अनुशासन आयोगले भनिएको छ – “स्थायी समिति तथा सम्पूर्ण संगठनको निर्णय विपरीत अवैधानिक तथा अनधिकृत रूपमा समितिको गठन हुनु संगठनको नीति विपरीत र अराजनीतिक गतिविधि हो।” यस आधारमा राईलाई तीन दिनभित्र आफ्नो लिखित स्पष्टीकरण दिन निर्देशन दिइएको छ। पत्रमा थप चेतावनी दिँदै भनिएको छ कि तोकिएको समयमा स्पष्टीकरण पेश नगरे वा प्रस्तुत स्पष्टीकरण सन्तोषजनक नभएमा संगठनको विधान, विधि र प्रक्रिया विपरीत कार्य गरेको ठहर भई आवश्यक अनुशासनात्मक कारबाही गरिनेछ।

यस घटनाले संगठनभित्र आन्तरिक विवाद अझ चर्किएको देखिन्छ। महाधिवेशन नजिकिँदै गर्दा समितिहरूको गठन, अधिकार र प्रक्रियासम्बन्धी विवादले संगठनभित्र तनाव थपिने अनुमान गरिएको छ।

यता, दोस्रो पक्षले वरिष्ठ नेता झलनाथ खनालले आफ्ना छोरा निर्भीक चित्रकार खनाललाई संगठनमा अगाडि बढाउन संजीव राईलाई समानान्तर समिति बनाउन निर्देशन दिएको दाबी गरेको छ। उनीहरूले संजीव राईलाई समानान्तर समितिको सह–संयोजक र निर्भीक खनाललाई उपाध्यक्ष बनाएको बताएका छन्। साथै, राई र खनाल ठेक्का–पट्टाको व्यवसायमा साझेदार भएको आरोपसमेत लगाइएको छ।

तपाइँको प्रतिक्रिया ।