उडेका सपनाहरू : धनक बहादुर थापा (कविता )
कपन अनलाइन
काठमाडौँ, साउन २४।
कति सपनाहरू सपनामै फूल्छ्न्
र सपनाकै हाङ्गाबाट पात भएर खस्छ्न्
कसैले माला उनेर लाउन नपाउदै
सुनौलो बिहानी नहुँदै
कुनै पर्यवेक्षकको दृष्टि नपर्दै
फेरि
रात फैलिन सक्छ
र रातभर वर्षेको पानीले
गलेर खस्न सक्छ कतै
आस्थाको पहाड
अनन्त सम्म दुखदिने
कृष्णभिर बनेर !
र बन्द भैदिन्छ्न्
गाउदेखि शहर पुग्ने बाटोहरू..
फेरि ..
फेरि पनि नेतालाई चुनाव आउँछ
चुनाव जितेरै उसले रोजि मन्त्री पाउछ
चुनावकै नारा लिएर नेता
पहिलेजस्तै आउँछ गाउँ
र
फूलाउँछ उसैगरी गरिवका दलानमा
बग्रेल्ती विकासे सपना
छरेर जान्छ पोहोर जस्तै
नयाँ लेखिएका घोषणापत्र
लगाएझै गर्छ पूरानो घाउमा सान्त्वनाका मलमहरू
फेरी कहिल्यै यस्तो हुने छैन !”
उसले फुकाएका सपनाका पोकाहरू
केही मूलायम सिमलका भुवा जस्तै
केही सिकारिले जालहानेर ल्याएका
निर्दोष चराहरू जस्ता
जब खोल्छ उसले जालको सुर्कने
एकाएक उड्न थाल्छन्
माथि कतै आकाशमा
बिच्केर बेगहानेका चराहरू
टाढा ! झन टाढा..
मेरो नावालक छोरो
सपनामै सोध्छ एउटा जटिल प्रश्न
बबा !
“ए बाबा !!
अब ती उडेका चराहरू
कहिले फर्कन्छ्न् होला ?”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
