नयाँ शक्ति निर्माणबारे गोरखावासीसँग छलफल गर्दै नेता भट्टराई

नयाँ शक्ति निर्माणबारे गोरखावासीसँग छलफल गर्दै नेता भट्टराई

गोरखा, १६ असोज । एकीकृत नेकपा (माओवादी) परित्याग गरेपछि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई पहिलो पटक आज गृह जिल्ला गोरखा आउनुभएको छ ।

गोरखा क्षेत्र नं. १ बाट निर्वाचित भई संविधानसभा र व्यवस्थापिका–संसद्को सदस्य रहनुभएका भट्टराई सांसद पद त्यागेको घोषणापछि मतदाता भेट्न गृह जिल्ला आउनुभएको हो ।

भट्टराईले माओवादी र सांसद पद पनि त्यागेपछि उहाँलाई जिताएका मतदाता निराश देखिएका छन् । देश सङ्कटमा परेका बेला पार्टी छाड्ने काम गर्नु गलत भएको अधिकांशको टिप्पणी छ ।

एमाओवादी छाडेको अवस्थामा भावी कदम के उठाउने भन्नेबारे जिल्लावासीसँग राय, सल्लाह, सुझाव लिन भट्टराई गृह जिल्ला आएको बताइएको छ ।

पहिलेदेखि नै भट्टराई विचार समूहमा लागेको जिल्लास्तरीय नेताहरूको संयोजनमा भट्टराईले जिल्ला विकास समितिको सभाहलमा मतदाता, स्थानीयवासी, उद्योगी व्यवसायीसँग भेटघाट सुरु गरेका छन् ।

भट्टराईले हस्ताक्षर गरेको निमन्त्रणापत्र यसअघि नै मतदाताको हातहातमा पु¥याइएको थियो । मतदाता भेट्न उहाँ प्रत्येक महिना जिल्ला आउनु हुन्छ ।

संविधान जारी भएको खुसियालीमा चियापान कार्यक्रम आयोजना गरिएको भनिए पनि नयाँशक्ति निर्माणबारे गहन छलफल हुने बताइएको छ । भट्टराईको घर खोप्लाङ गाविसमा पर्छ । उहाँ पहिलो संविधानसभाबाट गोरखा क्षेत्र नं २ बाट विजयी हुनुभएको थियो ।

भट्टराईले आफ्नो निर्वाचन क्षेत्र छाडेर सदरमुकाम रहेको क्षेत्र नं १ बाट दोस्रो संविधानसभा निर्वाचन जित्नुभएको हो । भट्टराई पक्षीय नेता रमेश पोखरेलका अनुसार नयाँ आधारमा नयाँशक्ति निर्माणबारे नेता भट्टराईले जिल्लावासीसँग छलफल गर्नुभएको छ ।

क्षेत्र नं. १ र २ का मानिस भट्टराईको निम्तो स्वीकार गरी चियापान तथा छलफल कार्यक्रममा सहभागी भएका छन् ।

एमाओवादीका जिल्लास्तरीय नेता, कार्यकर्ता भने छलफलमा देखिएका छैनन् । आजै भट्टराईले तनहुँको डुम्रे क्षेत्रका स्थानीयवासीसँग नयाँशक्ति निर्माणबारे छलफल गर्नुहुने कार्यक्रम रहेको बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।