चार मुक्तक : निर्मला देवी तिम्सिना कान्छी
कपन अनलाइन
काठमाडौँ, साउन १७।
हाम्रो सहयात्रा छुट्यो लामो सफरबाट
कोही गाउँबाट छुटे त कोही शहरबाट
महाकविले मदन मात्र पठाए भोटतिर
राज्यले खाडी पठायो मुना घर घरबाट ।
सम्झिएकी प्यारा मनले हिक्का लाग्न थाल्यो
तरल बन्दै झर्ने आँसु ढिक्का लाग्न थाल्यो
उज्यालोले पोल्न थाल्यो प्यारो भो एकान्त
फुलै फुलको बगान पनि फिक्का लाग्न थाल्यो ।
झुपडीमा जन्म लिएँ शहर किन चाहियो मलाई
एउटा कोठा भए पुग्छ घर किन चाहियो मलाई
जति सक्यो त्यति नै हो आफ्नो भागमा पर्ने
नभएका चीजहरूको रहर किन चाहियो मलाई ।
लास पनि उठ्ने थियो आगो लाउँदा पोल्ने भए
ढुङ्गो पिउने थियो मान्छे पानी हाल्दा घोल्ने भए
मन्दिर बाहिर उभिएर कुन मान्छेले ढोग्थ्यो होला
पापी आयो भन्दै मूर्ति मन्दिर भित्र बोल्ने भए ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
