झोले : शुक्रराज कुँवर (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ,असार १४।
“बाउ खोइ आमा ? जहिले झोला भिरेर हिँड्या छ, झोलेका सन्तान भनेर खिसीटिउरी गर्छन् साथीहरु ।” साँझ छिप्पिसकेको थियो बाहिरबाट ढुनमुनिदै घर आइपुगेको राजेशले भन्यो ।
“के भन्छ यो ? मास्टर झोले नै हो । झोला उसको साथी हो । एउटा सिद्धान्त, आदर्श र ज्ञान बाँड्दै हिँड्नु भा छ । ज्ञानले भरिएको झोला हो त्यो । तेरो बाउ आफै ज्ञानको पुञ्ज हुन् । तँलाई त बाउ प्रति गर्व लाग्नु पर्ने !” आमाले भनिन् ।
आमाको कुराले राजेशलाई छोएन । “ज्ञानले भरिएको झोलाले के हुन्छ ? पैसाले भरिएको झोला भए पो ? झोलेको छोरा न परियो जहिल्यै गोजी रित्तो ।” उसले बाउप्रतिको वितृष्णा पोख्यो ।
“कुलाङ्गारले जस्तो कुरा नगर । बाउको कति इज्जत छ, समाजमा । धेरै फतफत नगर अब । खान बस्, मासुभात पाक्या छ ।” आमाले प्रतिवाद गर्दै भनिन् ।
“खान्न म ! टन्नै मासुभात खाएरै आएको हो ।”
“कहाँ खाएर आइस् ?” आमाले आश्चर्य मिश्रित स्वरमा भनिन् ।
“थाहा छैन ? त्यहाँ पार्टीको विरोध जुलुसमा गएर आएको । टन्न मासुभात पनि खुवाए, बाटो खर्च पनि दिए ।” राजेशले भन्यो ।
“थुक्क, तेरो बुद्धि ! पार्टी र नेताको झोला बोक्ने अन्धभक्त झोले भइछस्, लज्जित छु ।” शिर झुकाएर आमाले भनिन् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
