हाहा ! म हारेकै छैन : विश्वजित गुप्ता (विशाल)
कपन अनलाइन
काठमाण्डौ,असार १४।
हाहा ! म त हारेकै छैन ।
तिमी मेरो खुट्टा तान ।
म झन् ऊर्जावान भई प्रस्तुत हुने छु, मान
आफ्नै गलतीबाट सिक्ने छु
लडेर फेरि उठ्ने छु
तिमी पछिपरी थाक्ने छौ ।
म बनाउने छु आफ्नो पहिचान ।
अझै मेरै कुरा काट
म आफैँ जोगाउने छु आफ्नो स्वभिमान
एकदिन तिमी मलाई चिन्ने छौ ।
म कति छु मूल्यवान्
मलाई केही पिर छैन
तिम्रो होच्याइलाई हौसला मान्ने छु ।
कोसिस गरिरहनू, सफल हुँदैन तिम्रो,
मलाई गिराउने अभियान ।
लुकेरै भए पनि मलाई आक्रमण गर,
किनभने मलाई थाहा छ,
तिमी कदापि छैनौ बलवान्
म फेरि बचाउने छु आफूलाई,
जोगाउने छु आफ्नो ज्यान
सामना गर्ने आँट नभएको,
कायर हौ मैले जानेँ,
षड्यन्त्र र छलकपटले जित्यौ भने पनि,
त्यसमा, तिम्रो के शान ?
एउटा कुरा भन्छु ल, ठाडो पारी सुन्नू कान
बहुमतले जहिले पनि जितिन्छ भन्न मिल्दैन ।
कहिले सत्यताले पाउँछ सम्मान
कसैको साथ नपाए पनि,
म आफ्नै दृढ निश्चयलाई नै बनाउने छु
आफ्नो विमान ।
केही छैन, म तिम्रो र मेरोबीचको
वैरभाव पनि बिर्सने छु ।
तिमीलाई क्षमा पनि गर्ने छु ।
तिमीलाई हराउने छैन ।
बरु आफैँलाई जिताउने यत्न गर्ने छु
तिमीलाई कुनै पल आफैँआफ
पश्चात्ताप हुने छ ।
जब तिमी वास्तविकता बुझ्ने छौ,
जब तिमी सिक्ने छौ,
जीवनको नयाँ पाठ र ज्ञान ।
त्यो दिन तिमी अवश्य नै
गाउने छौ मेरै गुणगान ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
