तारकेश्वर नगरपालिकालाई बृहत खेलकुदमा पुरुष फुटसलको उपाधि
कपन अनलाइन
काठमाण्डौ ,असार ८।
तारकेश्वर नगरपालिकाले बृहत खेलकुदअन्तर्गत पुरुष फुटसलको उपाधि जितेको छ ।
लैनचौर खेल मैदानमा भएको फाइनलमा तार्केश्वरले वडा ५ लाई टाइब्रेकरमा ३–२ गोलले पराजित ग¥यो । निर्धारित समयको खेल १–१ बराबरीमा टुंगिएको थियो । उपाधिसंगै तार्केश्वरले १ लाख ५० हजार तथा वडा ५ ले ७५ हजार नगद पुरस्कार पाए ।
प्रतियोगितामा वडा ५ का अक्लेश कार्की उत्कृष्ट खेलाडी तथा वडा ५ कै नितेश महर्जन उत्कृष्ट गोलरक्षक घोषित भए । वडा २६ का निराजन मल्ल सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । तीनैले जनही १० हजार नगद पुरस्कार हात पारे । १६ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
विजेतालाई काठमाडौं महानगरपालिकाकी उप मेयर सुनिता डंगोल, तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन र उप मेयर सृजना बुर्लाकोटी अर्याल, आयोजक वडा २६ का अध्यक्ष ख्यामराज तिवारी, आयोजक वडाका सदस्य एवं प्रतियोगिता संयोजक प्रवेश श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
जेठ ३१ गतेदेखि सुरु भएको बृहत खेलकुदमा क्योकुसिन कराते, फुटसलसहित टेबलटेनिस, कराते र तेक्वान्दो गरी ५ खेलमा प्रतिस्पर्धा भएको तेक्वान्दो संयोजक गौरव रजकले जनाएका छन् । सबै खेलको प्रतिस्पर्धामा नगद पुरस्कार राखिएको थियो । कुल पुरस्कार राशी ११ लाख ९० हजार रहेको थियो ।
