तीनदलद्वारा वार्ताका लागि समिति गठन

काठमाडौँ, ११ असोज । नयाँ संविधानप्रति असहमति दर्शाई आन्दोलन गरिरहेका मधेसी, थारु एवम् अन्य समुदायसँग वार्ता गर्न तीनदलले तीन सदस्यीय एक समिति गठन गरेका छन् ।

सो समितिमा नेपाली काँग्रेसका तर्फबाट वन मन्त्री महेश आचार्य, नेकपा (एमाले)का संसदीय दलका प्रमुख सचेतक अग्नि खरेल तथा एकीकृत नेकपा (माओवादी)का एक प्रतिनिधि (नाम आउन बाँकी) रहेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेका, एमाले र एनेकपा (माओवादी)का शीर्ष नेता सहभागी बैठकले सो समिति गठन गरेको हो ।

बैठकपछि एमालेका वरिष्ठ नेता झलनाथ खनालले सञ्चारकर्मीलाई संविधानप्रति असन्तुष्ट मधेसी, थारु र अन्य समुदायसँग वार्ता अघि बढाउन समिति गठन गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “तराई मधेसका माग के हो ? समस्या के हो ? बुझ्नै सकिएन । संविधानमा सबै कुरा समेटिएका छन् । केही असन्तुष्टि रहेका भए त्यसको सम्बोधन गर्न वार्ता टोली गठन गरिएको हो ।”

सञ्चारकर्मीको जिज्ञासामा वरिष्ठ नेता खनालले बैठकमा नयाँ संविधानको संशोधनका विषयमा छलफल नभएको जवाफ दिनुभयो ।

नेकाका वरिष्ठ नेता शेरबहादुर देउवाले तराई मधेसमा उठेका आन्दोलनलाई वार्ताका माध्यमबाट समाधान निकाल्न तीन सदस्यीय समिति गठन तीन दलको बैठकले गरेको जानकारी दिनुभयो । उहाँले वार्ताबाट समस्याको समाधान निस्कने विश्वास पनि व्यक्त गर्नुभयो ।

बैठकमा नेकाका सभापति एव्म प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको बैठकमा सहभागिता रहेको थियो । रासस

तपाइँको प्रतिक्रिया ।