डा बाबुरामको निर्णय पूर्णतः गलत – अग्नी सापकोटा

डा बाबुरामको निर्णय पूर्णतः गलत – अग्नी सापकोटा

काठमाडौँ, ९ असोज । एकीकृत नेकपा (माओवादी) ले वरिष्ठ नेता डा बाबुराम भट्टराईले पार्टी परित्याग गर्नुले आश्चर्यमा पारेको बताएको छ ।

सो पार्टीका स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले रासससँग कुरा गर्दै डा भट्टराईको बहिर्गमनबाट आफू आश्चर्यमा परेको र सो निर्णय गलत भएको बताउनुभयो ।

मुलुकले नयाँ संविधान जारी गरिसकेको र त्यसलाई सहज कार्यान्वयन गर्नुपर्ने बेलामा एकाएक पार्टी छाड्नु गलत भएको र मुलुक र जनताप्रति समेत राम्रो नभएको उहाँको भनाइ छ ।

नेता सापकाटाले भन्नुभयो, “संविधान कार्यान्वयन गरेर मुलुकलाई अगाडि बढाउने र पार्टी पुनर्गठन गर्ने बेलामा उहाँले जुन खालको व्यवहार प्रदर्शन गर्नुभयो, त्यो सर्वथा गलत छ । मुलुक, जनता र क्रान्तिको समेत विरुद्धमा छ ।”

आफ्नो निर्णयमा पुनःविचार गरेर पुनः पार्टीमा फर्कनुपर्नेमा जोड दिँदै सापकोटाले हतारमा गरिएको निर्णय पूर्णतः गलत भएको बताउनुभयो । डा भट्टराईले आफूले स्वतन्त्र रुपमा पार्टी परित्याग गरेको निर्णय गरेको बताउनुभएपनि उहाँको निर्णय स्वतन्त्र रुपमा नआएको बताउनुभयो ।

एमाओवादीले आइतबारदेखि केन्द्रीय समितिको बैठक बोलाएको र बैठकमा डा भट्टराईको बहिर्गमन तथा अन्य समसायिक विषयमा समेत छलफल हुने उहाँले जानकारी दिनुभयो । डा भट्टराईले पार्टीमा नै बसेर संवाद र छलफल गरेको भए राम्रो हुने थियो भन्दै उहाँले गलत तबरले आएको निर्णय पनि पूूर्णतः गलत नै हुने सापकोटाको भनाइ थियो ।

तपाइँको प्रतिक्रिया ।