सगरमाथाको चुचुरोमा बुढानिलकण्ठ नगरपालिका
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १४।
सोलुखुम्बु जिल्लामा जन्मिएकी २७ वर्षीया छिरिङ याङ्जी शेर्पा (याङ्छेन) ले १९ मे २०२५ (जेठ ५, २०८२) मा विश्वकै उच्च शिखर सगरमाथा (माउन्ट एभरेस्ट) सहित अमादाब्लाम, मेरा पिक र मार्दी हिमाल सफलतापूर्वक आरोहण गरेकी छिन्।
बुढानीलकण्ठ नगरपालिका कपन, सोलुडाडाँ-वडा न. १२ मा बसोबास गर्ने याङ्छेनले आफ्नो साहसिक यात्राको सफलतामा बुढानीलकण्ठ नगरपालिकाले उनलाई औपचारिक रूपमा स्वागत तथा अभिनन्दन गरेको छ।
बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, उप-प्रमुख अनिता लामा र प्रमुख प्रशासकिय अधिकृत अजय बर्तौलाले संयुक्त रूपमा आयोजित कार्यक्रममा याङ्छेनलाई बुढानीलकण्ठ भगवान विष्णुको प्रस्तर र ५१ हजार रुपैयाँ कार्यपालिकाबाट निर्णय गरि सम्मानित गरेका थिए। नगर प्रमुख अधिकारीले “नेपाली महिलाहरूले हिमालयमा गरेका यस्ता साहसिक उपलब्धिले देशको गौरव बढाएको छ” भन्दै उनको सफलतालाई राष्ट्रिय गर्वको विषय बताए।
याङ्छेनले आफ्नो अनुभव साझा गर्दै “हिमालय नेपालीहरूको पहिचान हो। मेरो सफलतामा साथीहरू, परिवार र स्थानीय निकायको सहयोग अमूल्य छ” भनिन्। उनले आगामी दिनमा युवाहरूलाई हिमालयन पर्वतारोहणतर्फ प्रेरित गर्ने योजनाको पनि जानकारी दिइन् ।
सोलुखुम्बुका शेर्पा समुदायमा जन्मिएकी याङ्छेनले हालसम्म विभिन्न ६ हजार मिटरभन्दा माथिका हिमालहरू आरोहण गरिसकेकी छिन्। उनको यो सफलता नेपाली महिला पर्वतारोहीहरूको लागि नयाँ प्रेरणा बनेको छ।
तपाइँको प्रतिक्रिया ।