राष्ट्रपति र अध्यक्ष दाहालबीच भेटवार्ता
काठमाडौँ, ९ असोज । राष्ट्रपति डा रामवरण यादवले तराई मधेसमा देखिएको असन्तुष्टिलाई तत्काल वार्ता र संवादको माध्यमबाट हल गर्न एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटवार्तामा राष्ट्रपति डा यादवले अध्यक्ष दाहाललाई सो आग्रह गर्नु भएको अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव चूडामणि खड्काले राससलाई जानकारी दिनुभयो ।
भेटवार्तामा संविधान जारी भइसकेपछिको मुलुकको पछिल्लो राजनीतिक अवस्था र समाधानको उपायका बारेमा छलफल भएको थियो ।
सो अवसरमा अध्यक्ष दाहालले प्रमुख तीन दल वार्ता र संवादको माध्यमबाटै समस्याको समाधान गर्न प्रयत्नशील रहेको र सोही दिशामा संवादको प्रक्रिया अगाडि बढाइएको राष्ट्रपति डा यादवलाई जानकारी गराउनु भएको थियो ।
अध्यक्ष ठाकुरसँग भेटवार्ता
यसैगरी राष्ट्रपति डा यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच आजै समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ ।
राष्ट्रपति डा यादवले तराई मधेसको समस्या समाधान गर्न तत्काल वार्ता र संवादको प्रक्रिया सुरु गर्न आग्रह गर्नुभएको बताइएको छ । संविधान जारी भएपछि राष्ट्रपति डा यादवले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गरिरहनुभएको छ । रासस