मनोरथ : अरुण कुमार भुजेल (कविता )

मनोरथ :  अरुण कुमार भुजेल (कविता )

कपन अनलाइन

काठमाण्डौ, बैशाख २०।

कहिले काँही लाली गुराँस बनेर रक्ताम्मे
पाखा पखेरामा फुलि दिऊँ झैँ लाग्छ
कहिले फेरि खेतबारीको गराहरूमा
धानको बालासरि झुली दिऊँ झैँ लाग्छ ।

कहिले मखमली अनि सयपत्री भएर
चेली माईतीको मनभरि फुलि दिऊँ झैँ लाग्छ
बिचित्रको छ मन फुल्न खोज्छ झुल्न खोज्छ
यसले आफ्नै संस्कार संस्कृतिहरू रोज्छ ।

मादल भिरेर लैबरीमा कम्मर भाँचौं भन्छ
सरस्वती भाकेर मारूनी जस्तै नाचौं भन्छ
रोधी घर र दोहरी साँझमा रमाउनु भन्छ
लोक धुन र लोक लयलाई बचाउनु भन्छ ।

पूर्वको हाँकपारे र पश्चिमको देउडाहरूसँग
हातेमालो गर्दै तालमा ताल मिलाउनु भन्छ
टिस्टा देखि सुनकोशसम्मका इतिहासहरू
कसैले बिर्सनु हुँदैन भन्दै सम्झाउनु खोज्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।