नाकाबन्दी गरेमा हामी गाडी छाडेर साइकलमा चढ्ने छौं ’ : प्रचण्ड
नेकपा एमालेले मंगलबार आयोजना गरेको चियापान समारोहमा बोल्दै प्रचण्डले यसबारे आज साँझ तीन दलको बैठक बसेर कुरा गर्ने बताएका छन्। एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भारतले नाकाबन्दी गरे पनि हामीलाई केही फरक नपर्ने बताएका छन्।
‘नेपाली जनताका प्रतिनिधिले संविधान बनाउँदा कसैले नाकाबन्दी गर्छ भनेर हामी आत्तिनु हुँदैन। नाकाबन्दी भए हाम्रो स्वाभिमान झुक्दैन। हामी बीच दरो एकता आवश्यक छ। हामी सबै नेपाली एकजुट भएर परिस्थितिको सामना गर्नुपर्छ।’
नेपालको सार्वभौमिकतामाथि चुनौती दिने कुनै अन्तर्राष्ट्रिय गतिविधि हामीलाई स्वीकार्य र मान्य नहुने दाहालले बताए।
उनले भारतसँग आफूहरू लडाइ झगडा गर्ने पक्षमा नरहेको स्मरण गराए। तर हाम्रो स्वाभिमान र आत्मसम्मानमाथि प्रहार हुन्छ भने त्यसको प्रतिवाद गर्न हामी आफूहरू तयार रहेको दाबी गरे।
यसअघि एमाओवादीका पोलिटब्युरो सदस्य गोपाल किरातीको ‘प्रचण्डपथको विजय’ नामक पुस्तक विमोचन समारोहमा सार्वजनिक गर्दै उनले भनेका थिए, ‘यो संविधान कुनै देशको विरोधमा होइन र छैन।’
भारतसित सुगौली सन्धिदेखि यता नेपालको शिर निहुरिएको उल्लेख गर्दै उनले, नेपालले नैसर्गिक सार्वभौम अधिकारको प्रयोग गर्दा भारतीय जनताले जनाउनु पर्ने बताए। उनले भने, ‘हामी लडाइँ, झगडा गर्दैनौं । यदि नाकाबन्दी गरेमा हामी गाडी छाडेर साइकलमा चढ्ने छौं।’
‘हामी आफ्नो आन्तरिक समस्या समाधान आफैं तयार छौं,’ नेपाली जनताको दह्रो एकताको आवश्यकता रहेको उल्लेख गर्दै उनले भने, ‘तर हामी नेपालीको शिर निहुरिने गरी कसैसित झुक्दैनौं । हामी सबैले भीष्म प्रतिज्ञा गरौं ।’
यस्तै आज भएको गच्छदारसँगको बार्ता सकारात्मक भएको भन्दै उनले चाडै उहाँहरू पनि सहमतिमा आउने बताए।