नदीको छटपटी : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,चैत १६ ।
१. नदी भन्दै प्यारो गरन दुनियाँ प्यार छ ममा
नदी भन्दै रेट्छौ दिल यदिभने धार छ ममा
नदी भन्दै ठेल्छौ पर पर भने ठेल्दछु म झन्
नदी भन्दै पेल्छौ पल पल भने पेल्दछु म झन्
२. हिजो सोधेँ पुग्दै निकट र भइन् भावुक उनी
थिइन् रुन्चे जस्ती रह विरहले वेष्टित उनी
गयो तिम्रो बाटो भनन त कता के हुन गयो
थियौ गोरी नानी भनन किन यो ज्यादती भयो ?
३. नदी भन्छिन् ठान्दै विकल विचरी झन् मनपरी
गरे मान्छे आई नियमित लुटाई सय थरी
लुटे मैले हिँड्ने जमिन र किनारै लुटिदिए
लुटे मेरो चौडा बगर घरबारै लुटिदिए
४. उनी भन्छिन् पुर्दै तल तल लगे भासिन पुगेँ
उनी भन्छिन् आई ढल पनि मिसे दूषित भएँ
कठै घाँटी थिच्दै हल न चल पारे अनि कतै
मिची मेरो बाटो परपर लघारे पर उतै
५. थुती मेरो पूर्जा मिलजुल गरी च्यात्च्युत गरे
सबै मेरै हो यो वरपर भनी हाट्हुट गरे
अरू भन्दा ठूलो जमिन छ भनी झन् फुइँगरे
नदी खोला मिच्ने अब अति भयो ताजुक हरे
६. गयो खेल्ने डुल्ने घर बगर मेरो सब गयो
गयो हाँस्दै कुद्ने रहर पर लाग्यो सब गयो
बनी कालो मैलो अनि थिलथिलो बाँचु कि मरूँ ?
नचिन्ने भो मेरो स्वरुप जगले के भनुँ अरू ?
७. न खान्छन् पानी यो न त जल हुने पूजनतिरै
लुगाफाटो धुन्नन्, न त अब गरे स्नान पनि खै ?
लिए हाम्रो कस्तो वदनियतले हुर्मत यता
दिए हुन्थ्यो बाँच्ने हक मनुजले भन्दछु म ता ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक