क्षमता : गंगा खड्का (लघुकथा)

क्षमता : गंगा खड्का (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,फागुन २४ ।

सुबोधले उत्कृष्ट कर्मचारीको रूपमा पुरस्कार पाएपछि उनलाई मन्तव्यका लागि मञ्चमा बोलाइयो । मन्तव्यको क्रममा उनले आपूm यस पुरस्कारको योग्य हुनका लागि आफ्नी श्रीमतीको हात रहेको कुरा भनेपछि उपस्थित व्यक्तिमध्ये धेरै व्यक्तिका बीचमा खासखासखुसखुस चल्यो ।
एकजनाले भने, “श्रीमतीको नाम त अति नै चर्चा गर्नुपर्ने मान्छे रहेछन् ।”
अर्काले भने, “त्यति मात्रै हो र सुन्दै जाऊ न । अहिले श्रीमतीको कथा बनाएर आफ्नो सफलतासँग जोड्न बेर छैन । श्रीमतीलाई चर्चामा ल्याउनको लागि अनेक गर्छन् ।“
फेरि तेस्रो व्यक्तिले भने, “त्यही त आलु खाएर पेडाको धाक । जे गर्दा नि मेरी श्रीमतीले यसो गरिन्, उसो गरिन् भन्नुपर्ने !”
नभन्दै सुबोधले आफूले जागिर खाएर श्रीमतीले उनलाई लोकसेवा पढ्ने वातावरण बनाइदिएको कुरा भने । साथै फुर्सद हुनासाथ श्रीमतीले उनलाई पढेका कुराहरू सोधेर उत्तीर्ण हुन सहयोग गरेको कुरा पनि बताए ।
त्यसपछि त झनै ती व्यक्तिहरूले उनलाई उडाउन थाले । मलाई सही नसक्नु भयो र मैले उनीहरूको मुखमा बिर्को लगाइदिँदै भनेँ, “महिलाको सहयोगले पुरुष सफल हुनु कुनै असम्भव र बहस गर्नुपर्ने विषय होइन । नारीको क्षमतालाई यसरी अवमूल्यन गर्न त भएन नि ।”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।