असहिष्णुता : लक्ष्मी रेग्मी खनाल (लघुकथा)

असहिष्णुता : लक्ष्मी रेग्मी खनाल (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,फागुन २४ ।

विद्यालयको भित्तामा झुन्डिएको पुरानो घडीले बाह्र बजिसकेको सङ्केत ग¥यो । प्रधानाध्यापक श्रीधर सरले गहिरो सास फेरे । आजको बैठक उनीहरूका लागि निर्णायक थियो ।
प्रधानमन्त्रीको नयाँ नीति अनुसार पुराना शिक्षकहरूलाई स्वेच्छिक अवकाश लिने सल्लाह दिइएको थियो । यो सल्लाह नभई बाध्यता जस्तै थियो । बैठक सुरु भयो । शिक्षा मन्त्रालयका सचिवले प्रधानमन्त्रीको आदेश सुनाए, “देशको भविष्य उज्यालो बनाउन सक्षम, ऊर्जावान युवाहरूलाई अवसर दिनुपर्छ । पुराना सोच बोकेका शिक्षकहरूले परिवर्तनलाई रोकिरहेका छन् ।”
श्रीधर सरले शान्त स्वरमा भने, “तर शिक्षा अनुभवबाट बलियो हुन्छ । अनुभवलाई हटाएर शिक्षा कसरी समृद्ध हुन्छ ?
सचिवले व्यङ्ग्यात्मक हाँसो छोडे, “प्रधानमन्त्रीज्यू भन्छन्, ‘पुराना शिक्षकहरू नयाँ पुस्ताको गतिलाई सम्हाल्न सक्दैनन् । तिनीहरू परिवर्तन विरोधी छन् । समयअनुसार शिक्षक परिवर्तन हुनुपर्छ ।”
शिक्षकहरू बीच गुनासोको स्वर सुनियो । सरस्वती म्यामले आँखा रसाउँदै भनिन्, “हामीले देशका डाक्टर, इन्जिनियर, वैज्ञानिक बनायौँ । आज हामीलाई नै अयोग्य भनिदैछ ?”
सचिवले टेबुल ठटाए, “यही आदेश हो, विरोध गर्ने छुट छैन ।”
भोलिपल्ट, विद्यालयको मूल ढोकाबाहिर पोस्टर टाँसिएको थियो – “पुराना शिक्षकहरू हटेपछि मात्र नयाँ सोच आउँछ ।”
श्रीधर सरले पोस्टर हटाउँदै मनमनै सोच्न थाले – प्रधानमन्त्रीलाई शिक्षा मात्र होइन, शिक्षकहरूप्रति पनि सहिष्णु हुन सिकाउनुपर्छ !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।