भत्केको घर : राजकुमार पोखरेल (कविता )
कपन अनलाइन
काठमाण्डौ ,फागुन २४ ।
कति आस्था थियो तिनमा यो घर प्रति
कति श्रद्धा थियो त्यसले दिएको ओत प्रति
आस्थाको धरोहरमा तिनको एकता चमत्कारी थियो
तिनको वीरता र जोश साँच्चै लायक थियो
हो आमाले नमूना सन्तान जन्माएकी थिइन
भटाभट सवालाख सन्तानहरू
तिनको यही परिचय थियो ।
तिनीहरू उठ्दा धर्ती हल्लियो
आवाजले संसार थर्कायो
एकता नमूना नै बनेथ्यो तिनको
आमाले न्यानो काखमा राखेर हुर्काइन
संस्कार र सभ्यताको कखरा
राजनीतिमा राखेर सिकाइन
तिनीहरू बोल्दा शत्रुको ढ्याङ्ग्रो बज्दथ्यो
मित्रहरूको आङमा न्यानो घाम लाग्दथ्यो ।
आज आमा हराएर हो कि
बाबुले बाटो बिराएर हो कि
कोही टुहुरा जस्तै भएर
कोहीको घमण्डले उन्माद भरिएर
तिनको एकता भताभुङ्ग भएछ
तिनको सपना विथोलिएछ ।
ती सवालाख वालकहरूले
सपना देखेथे सुन्दर संसारको
तर दुखको सागरबाट मुक्त नभई
आज छिन्नभिन्न भएछन्
मानौ बाबुले सौतेनी आमा ल्याएर
विथोलिएको परिवार जस्तै
उमेरै नपुगी अंशबण्डामा परेको परिवार जस्तै ।
आदर्श र निष्ठा घरमा च्युत भयो
बा तिमीप्रतिको सद्भाव अब भूत भयो
आमा मरिछन् सौतेनी आमाको छायाँमा
कसरी हुर्केलान यी नानीहरू ?
लाग्छ, कतै यही दिनबाट घरको आदर्श पलायन हुँदैछ
कतै यही समयबाट घरभित्र दासताको अभ्यास हुँदैछ
यो घरभित्रको तानाशाहीले
अव विचारको घर होइन, भजनको महल बन्नेछ
निष्ठा र समर्पणको विकास होइन
व्यापारी र दलालको हुकुम चल्नेछ ।
अव यो न चौतारो हुने छ नघर हुनेछ
आदर्श, विचार र निष्ठाका लागि
अब यो भूत बङ्गला मात्र हुनेछ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
