छ यै घाम प्यारो : त्रिलोचन आचार्य (कविता )

छ यै घाम प्यारो : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,फागुन २४ ।

१. छ यै घाम प्यारो, बिहानी छ प्यारो
मिठो सिर्जनाको कहानी छ प्यारोे
बगी सल्ल जाने, नदी धार प्यारो
छु आमासँगै यै, छ आधार प्यारो

२. हिँडेको छु प्यारो यही एक बाटो
चुमेको छु ढोग्दै यही दिव्य माटो
छ प्यारो मलाई यही खेतबारी
छ प्यारो हिमाली उज्यालो छहारी

३. सधैँ पूmल फुल्ने थला लाग्छ प्यारो
चराको खुलेको गला लाग्छ प्यारो
छ प्यारो पखेरो छ बेँशी कटेरो
र प्यारो उज्यालो छ पानी पँधेरो

४. नदौडूँ म कैल्यै भनी दाम प्यारो
कुदेको छु भन्दै धराधाम प्यारो
छ वर्षाद छेक्ने यही बास प्यारो
छ पुर्खा बसेको थला खास प्यारो

५. गरी काम आफ्नो चुमूँ टाकुरा म
र सद्भावनाको बनूँ आँकुरा म
बनूँ सत्य बोल्ने भनी शान्ति प्यारो
मलाई सधैँ जूनको कान्ति प्यारो

६. र छातीविशे यो छ नेपाल यौटा
यिनै देशबासीहरु लाग्छ द्यौता
सधैँ सिर्जनाको कुना लाग्छ प्यारो
स्वतन्त्रताको मुना लाग्छ प्यारो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।