आमालाई नमोनम : त्रिलोचन आचार्य (कविता )

आमालाई नमोनम :  त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,फागुन १७।

ओडेर हिउँको खास्टो बसेकी दिव्य कुञ्जमा
सारा नेपालकी प्यारी आमालाई नमोनमः
उचा पहाडका काँध तराईसम्म काखमा
तीन करोडकी साझा आमालाई नमोनमः
मेची काली सिमाभित्र गरेर नित्य उद्यम
उज्याली भै रमाएकी आमालाई नमोनमः
डाँफेका साथमा नाच्दै गुराँससाथ रंगिदै
चोखो सुन्दरता साँच्ने आमालाई नमोनमः
सुस्ता र लिपुका आँसु कोशी गण्डक पिल्पिल
कुँड्याई चित्त बाँचेकी आमालाई नमोनमः
विदेशमा युवा जाने वृध्द बालक काखमा
वाध्यतामा परेकी यी आमालाई नमोनमः
झगडा बगाएको नौलो विकासको रथ
चल्छ चल्छ चलोस् भन्ने आमालाई नमोनमः
व्यवस्थामा दिने दोष सञ्चालक भने ठिक
भन्नुपर्ने अवस्थाकी आमालाई नमोनमः
नक्कलमा चलौँ भन्ने नजान्ने गर्न अक्कल
छोरा सक्कल हुन् भन्ने आमालाई नमोनमः
डुबाई रिनमा आमा आपूm अर्ब समाउने
चलाख पुत्रकी सोझी आमालाई नमोनमः
आफ्ना श्रोतहरु बेची कौडीका मूल्यमा पर
खाने किनेर बाठाकी आमालाई नमोनमः
सीता र भृकुटी पढ्ने भक्ति अमर सम्झिने
अल्छी सन्ततिकी दोखी आमालाई नमोनमः

सहयात्रा : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।
Close