पठाउन नसकेको म्यासेज : अनाम उपेक्षित
कपन अनलाइन
काठमाण्डौ ,फागुन ३।
ए सिम्मा १ !
यो जीवन दिन्छु तिमीलाई जिम्मा ।
सिम्मा ! यो मन थिरमा छैन
भेला भएर उभौली साकेला२ मा
सिली३ टिपिरहेको बेलामा
हाम्रा आँखाहरुको जुहारी चलेकै पलदेखि,
तीनपाने चढाएर आँट बढाएर
तिम्रो मनमा बास मागिदिने आस देखाएर
मेरै मुखले मलाई नै नराम्ररी छलेकै पलदेखि ।
सिम्मा ! खै, किन हो किन !
उरन्ठेउला साथीका असङ्ख्य असङ्ख्य ताँतीहरू
मेरै दायाँबायाँ लागिरहुन् भन्ने इच्छा जाग्छ
र तिम्रो नाम मिश्रित छेडछाडका ताजा ताजा पातीहरू
यही मनको देउरालीमा चढाइरहुन् जस्तो लाग्छ ।
सिम्मा ! आजभोलि त
खक्चिलिपु४ ले जस्तै जाल हानिरहन्छु
हरेक रात सपनीमा खोला झरेर,
माछाको साट्टा तिमी जालमा परिरहन्छौ
नागेलुङ५ ले जस्तै एउटा ढुङ्गाको रुप धारण गरेर ।
सिम्मा ! मलाई लाग्छ
छोराको यादमा तड्पिरहेको थिबिया६ चरीले सरि
तिमीले पनि कष्टकर तरिकाले कटाइरहेछौ रात अनि दिन
किनकि मलाई सम्झेर पठाइरहेछौ
कोसेली स्वरूप बाडुलीहरू छिनका छिन ।
सिम्मा ! मलाई थाहा छ
त्यो बाँसमा
तिमीलाई सम्झिँदै यो हातले लेखेका सायरीहरू
कुनै दिन कसैले बाँस ढालेर बाँससँगै बोकेर लान्छ,
त्यो ढुङ्गामा
यो हातले खोपेका ‘अनाम उपेक्षित + सिम्मा’ हरू
एकैछिन अल्लारे विकास परेड खेले धुलो भएर जान्छ ।
तर सिम्मा !
यो मुटुका कोरिएको तिम्रो नाम रहिरहनेछ जिन्दगीभरि ।
सिम्मा ! सुप्तुलु७ को कसम
विरहको भारी लगाउँदै
आँसुको तापखोला८ बगाउँदै
खियामा९ ले रोपेको लिम्चिङबुङ१० ओइलिएसरि
ओइलिने छैन मैले तिमीलाई गरेको माया कसैगरि
रुखमै पसेर भएपनि फुलिरहनेछ फुलेझैँ सुनाखरी,
भिरमै बसेर भएपनि फुलिरहनेछ बुकी फुलेझैँ सधैँभरि ।
लौ सिम्मा !
यो जीवन अब तिमीलाई जिम्मा ।
१ कान्छी, कान्छी छोरी, छोरीलाई स्नेहपूर्वक सम्बोधन गरिने शब्द ।
२ राईहरुको महान् चाड ।
३ साकेलाको अवसरमा विभिन्न किसिमका मानव क्रियाकलाप तथा जीवजस्तुहरूको हाउभाउ गरेर नाचिने नाच ।
४ राईहरुको आदिम पुर्खा ।
५ राई समाजमा प्रचलित मिथकअनुसार एकदिन खक्चिलिपु जाल खेल्न जाँदा माछाको सट्टा जालमा परेको एउटा ढुङ्गा । त्यही ढुङ्गा जालमा पर्ने र खोलामा फ्याँक्ने गर्दागर्दै थाकेपछि खोर्सानी पिस्न भएपनि काम लाग्छ भनेर सो ढुङ्गा बोकेर ऊ फर्किन्छ । त्यो ढुङ्गा आफ्नो वास्तविक रुप नागकन्याको रुपमा देखापर्छ र उनिहरुले घरजम गर्छन् ।
६ राई समाजमा प्रचलित मिथकअनुसार गाउँलेहरुको जालझेलमा परी आफूले भेलबाढीमा बगाएको आफ्नो छोरा थिबेलाई खोज्ने क्रममा अग्लो रुखमा पसेर खोलाको किनारतिर हेर्दा खसेर मृत्यु भएपछि चराको जुनी लिई थिबेउ थिबेउ भनी छोरालाई बोलाउँदै भौतारिरहेकी आमा ।
७ मुन्दुमी (राई जातिको धर्मशास्त्रीय) विधिपूर्वक गाडिएको राईहरुको तीनचुला । जहाँ राई जातिका सम्पूर्ण सँस्कारहरु सम्पन्न गरिन्छ ।
८ खोटाङ जिल्लाको उत्तरी भेग हुँदै बहने एक खोला ।
९ आदिम किराती चेली, तायामाको बहिनी ।
१० राई समाजमा प्रचलित मिथकअनुसार आदिम किराँती दिदीबहिनी तायामा खियामा छुट्टिने बेलामा एकअर्काका हालखबर थाहा पाउनको लागि उनीहरूद्वारा रोपिएको फूल । खियामालाई उनको मामाले खाएपछि उनले रोपेको लिम्चिङबुङ ओइलिन्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक