घामको सौन्दर्य : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,माघ २६।
१. आएछ यो घाम सुदूरबाट
ब्युँझाउँदै यो युगको प्रभात
नजन्मिँदै सूर्य बनेन सृष्टि
नआउँदै घाम खुलेन दृष्टि
२. द्यौता कहाँ छन् कसरी नियाल्ने ?
यो घाम नै देव समस्त पाल्ने
आगो यसैले नदिई हुँदैन
पानी उसैको नपिई हुँदैन
३. छोरी रहेछिन् धरती उसैको
ब्रह्माण्ड भर्ने पिरती उसैको
यो सिर्जना हो गरिमा उसैको
गाऊँ सबैले महिमा उसैको
४. आई बिहानै उसले नडाके
झन् काख तातो उसले नराखे
डो¥याउँदै झन् नलगे उसैले
देख्दैन आँखा दुनियाँ कसैले
५. भन्दै नभन्ने तँ धनी गरीब
हेलाँ नगर्ने तँ भनेर नीच
बेला अबेला कहिल्यै नगर्ने
छन् घामबाटै कति सिक्नुपर्ने
६. सन्ध्या उसैकी बहिनी छ राम्री
प्रभात छोरी प्रिय नित्य हाम्री
जाज्वल्ल्य छोरा दिन रात नै छन्
सन्तान सारा प्रिय साथ नै छन्
७. पाल्यो उसैले ग्रह चन्द्र सारा
तारा अनेकौँ उसकै सितारा
ल्यायो यहीँ बादल खेत भर्न
पानी दियो धन्न परेन मर्न
८. यो घामको काम अपार नै छ
त्यो जीवनी हार विहार मै छ
छन् घामभन्दा पर हुर्कने को ?
हो सृष्टि जालो उसले बुनेको ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।