स्याउ टिप्न सुरु

स्याउ टिप्न सुरु

खरा, २५ भदौ । मुस्ताङका किसानले आफ्ना बगैँचामा उत्पादन गरेको स्याउ टिप्न सुरु गरेका छन् । किसानले हरितालिका तीज पर्वलाई मध्य नजर गरेर पाकेका स्याउ फाट्टफुट्ट टिप्न सुरु गरेका हुन् । यस वर्ष जिल्लामा चार हजार ७०० मेट्रिक टन स्याउ उत्पादन भएको अनुमान गरिएको छ । images (1)
यो वर्ष जिल्लामा करिब रु ४० करोडभन्दा बढी मूल्यको स्याउ उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत राजाराम अधिकारीले जानकारी दिनुभयो । गत वर्ष जिल्लामा चार हजार मेट्रिक टन मात्रै स्याउ उत्पादन भएको थियो ।
जिल्लामा यस वर्ष गतवर्षको भन्दा पाँच हेक्टर क्षेत्रफलमा स्याउ उत्पादनमा विस्तार गरिएको अधिकारीले बताउनुभयो । गत वर्ष जिल्लामा ३३० हेक्टर क्षेत्रफलमा स्याउखेती गरिएकामा यसवर्ष ३३५ हेक्टर क्षेत्रफलमा स्याउ रोपिएको छ ।अहिले मुस्ताङमा प्रतिकिलो रु ७० देखि रु ८० मा स्याउ बिक्री हुने गरेको छ । जिल्लाका १६ गाविसमध्ये १३ गाविसमा स्याउ उत्पादन हुने गर्दछ । स्याउ बढी उत्पादन हुने गाविसमा टुकुचे, मार्फा, कागबेनी, छुसाङ छन् भने मुक्तिनाथ, जोमसोम, झोङ, घमी, चतान, खुर्साङ र कोवाङमा पनि स्याउ उत्पादन हुने गरेको छ । 

जिल्लामा ८८३ हेक्टर क्षेत्रफल स्याउ उत्पादनशील क्षेत्र मानिन्छ । १६ वटा सहकारी संस्थाले स्याउखेतीको बजार प्रवद्र्धन गर्ने गरेका छन् । स्याउका बिरुवा उमार्नका लागि नौवटा नर्सरीको स्थापना गरिएको छ ।

पोखरा–जोमसोम मोटरबाटो सञ्चालनमा रहेकाले व्यापारीलाई स्याउ ढुवानी गर्न सहज भएको छ । पोखरा, बागलुङ, म्याग्दी, पर्वतलगायतका व्यापारी किसानको बगैँचामा गई बोटबाटै ठेक्कामा स्याउ खरिद गरिन्छ । असोजको अन्तिमसम्म सबै स्याउ बिक्री भइसक्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।