के चाहिएको छ : राजकुमार पोखरेल (कविता )
कपन अनलाइन
काठमाण्डौ ,माघ ५।
के चाहिएको छ ?
काग, हुचिल र चिबे चराहरूले
बस्ती माथिको आकाशमा उडेर
सूर्यको प्रकाश ढाकेका छन्
गिद्ध हरूको उडाई र रुंगाईले
बस्ती हाहाकारबन्दै गरेकोछ
धर्ती जोत्ने गोरू हरू पलायन भए
सांढे हरूको मात्र उन्माद छाएको छ ।
घुस दिन्या र लिन्या शतुर हुन् भन्ने उक्ति
अव त आपसमा गठबन्धन भएका छन
ब्वांसाहरू यसैमा रमाई रहेछन्
गठबन्धनका व्वांसाहरू यसैमा पल्केका छन
स्याल हरूको हा हा हु हू ले बस्तीमा
कोलाहाल छाएको छ ।
ठीक यस्तै वेलामा
तिमी मलाई सोध्छौ,
तिमीलाई के चाहिएकोछ ?
म जवाफ दिन्छु
बस्तीमा स्वच्छता चाहिएको छ ।
बस्ती आदर्शमा च्युत भयो
नेताहरूको भाषणले मृत भयो
नैतिकता धरातल पाताल मुनी भासियो
अशान्ति कोलाहालले सर्वत्र छायो
तिमी मलाई सोध्छौ तिमीलाई के चाहियो ?
म भन्छु सुन
यसबेला मलाई बुद्ध चाहियो ।
बस्ती भांडिएर क्षत विक्षत छ
कसैलाई डलर नपचेर
जात विथोल्ने ओसिड खानु छ
कसैलाई भारू पचाउन
क्षेत्रीय विखण्डनको त्रिफला खानु छ
कतै वर्णका कुराले विथोलिएको छ
कतै भातका कुराले लुछाचुडी छ
डलर पचाउन कसैलाई बस्ती फोर्नु छ
भारू पचाउन कतै गाउँ तोड्नू छ
हेर्दा हेर्दै बाइसी चौबिसीको कथा पनि
कतै दोहो¥याउने रहर छ
कहां गयो यो चार वर्ण छत्तीस जातको फूलवारी?
के सिकाए विसे नगर्ची र
झागल गरूंगहरूले ?
खै कता गयो एकता र अखण्डताको गर्व
अहिले त उठ्यो इतिहास मार्ने गरी
अतितको गौरव पछार्ने घरी
बन्नै नपाई निराशाको संकेत दिंदै
त्यही संघीयता
बुझ्न गाह्रो भयो
कहांबाट, कसरी र किन आयो यो ?
हो यसबेला तिमी सोध्छौ मलाई
के चाहिएको भनेर
प्रष्ट जवाफ यही हुन्छ साथी
यसबेला मलाई मात्र होइन
मेरो बस्ती, मेरो देशलाई
पृथ्वी नारायण शाह चाहिएको छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक