नेपाल अमर रहोस् : ढुण्डिराज पोखरेल (कविता )
कपन अनलाइन
काठमाण्डौ ,पुस २०।
आफै पौरख गर्न सक्षम बनूँ, बाटो सधैँ स्वच्छ होस्
त्यागौ कुत्सित भावनाहरू, सबै सत्कर्ममा दिन बगोस् ।
मेरो देश स्वतन्त्र हिन्दूहरूको, स्वाध्यायमा चम्कियोस्
एउटै मन्त्र जपुन् समस्त जनले, नेपाल अमर रहोस् ।।१।।
यस्तो मार्ग तयार गर्न, म सकौं विद्रोहको अन्त्य होस्
मेरो यो मुटुभित्र घड्कन, सदा नेपाल भन्दै चलोस् ।
हाम्रा चन्द्र र सूर्य अङ्कित ध्वजा, देखुन सदा चीर होस्
यो हिमालय काखमा अजय भै, नेपाली हाँसी रहोस् ।।२।।
हाम्रो वीरपना उँचो बनि, रहोस् कहिल्यै नझुकोस् शीर
नेपालीपन होस् स्वराष्ट्र, हितमा स्वतन्त्रताको नीर ।
भाषा भेष कला र संस्कृति, सबै अक्षुण्ण बन्दै रहोस्
यो स्वर्गीय अनन्त शान्त, रसिलो नेपाल अमर रहोस् ।।३।।
नेपाली भूमिभित्रका नदनदि, निर्विध्नतामा बगुन्
यी हाम्रा हिमश्रृङ्खला चहकिला, नेपाल भित्रै रहुन ।
आहा ! स्वर्णिम शान्त प्राकृतभूमि, भन्ने सधैँ गर्व होस्
पुर्खाको बलिदानले श्रृजित यो नेपाल, अमर बनोस् ।।४।।
यो अनन्त अथाह पुण्य भूमिको सर्वत्र चर्चा चलोस्
हाम्रा दुर्वल भावना सब हटुन स्वतन्त्र होस् शान्त होस् ।
धर्तिकै मणिरत्न स्वर्ग भूमिको माया र सद्भाव होस्
एउटै चाह सदावहार दरिलो, नेपाल अमर बनोस् ।।५।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक