फूल्न सकेनन् फूलहरू : राजकुमार पोखरेल (कविता )
कपन अनलाइन
काठमाण्डौ ,पुस २०।
फूल्न सकेनन् विश्वासका फूलहरू
आत्मा ओइलाए पछि
भावनाहरू फाटे पछि
कोपिलामै कतै खुम्ले किराले घर बनाए पछि
फूल्न सकेनन् फूलहरू
फक्रन सकेनन् विश्वासका कोपिलाहरू ।
यो मनका घर र आँगनहरूमा
गाउँ बस्ती र शहरहरूमा
सजाउंदै सुन्दर पानाहरू
भर्दै रमाइला अक्षरहरूले
कतै यतैको इतिहासमा
फूल्न सकेनन् फूलहरू
फक्रन सकेनन् विश्वासका कोपिलाहरू ।
फूल्ने चेष्टा त गरेथे फूलहरूले
रहरहरूलाई समेटेर
सजाउन खोजेथे इतिहासको पानामा
मनको करेशा र बगैँचामा
तर निर्दयी हुरीले
बिरूवाको मुन्टै चुडिदिएछ
अविश्वासको खडेरीले
विरूवालाई ओइलाई दिएछ
त्यसैले फूलहरू फूलेनन्
फक्रन सकेनन् विश्वासका कोपिलाहरू ।
फूल्छन फूलहरू संग्लो मनको बगैंचामा मात्र
फक्रन्छन् विश्वासका कोपिलाहरू
इमान्दारिताको मुनाबाट
स्वाधिन र खूल्ला बगैँचामा फुलहरू रमाउने गर्दछन् ।
यहाँ त बगैँचाको माली
निष्ठामा पराजित भएको छ
इमान्दारितामा उसको हेर्नै नसक्ने गरी किरा परेको छ
धेरै थोरै कथाहरू रचेर
जीत र हारका कहानीहरू कोट्याएर
माली बलौटो मात्र केलाई रहेछ
त्यसैले बगैँचा मरूभूमि बन्दैछ ।
थाह छैन कि उसलाई
हुर्कन सक्दैनन् फूलहरू बालुवामा
रसिलो माटो र पानी बिना
फूल्न सक्दैनन् विरूवाहरू धरतीमा
त्यसैले भनेको हो फूलाउने फूलहरू
फक्राउन विश्वासका कोपिलाहरू
इमान्दारिताका फोहराहरूले सिंचन् गर्नु पर्छ
जरामा विवेकी मल हाल्न सक्नु पर्छ
झारपातहरूलाई
सत्यताको औजारहरूले गोडमेल गर्नु पर्छ
विना छलछाम, बिना कपट
लगाऊ बगैँचा
हाल सत्यताको मल बगैंचा भरी
तव त हुर्कने छन् बिरूवाहरू
झांगिनेछन् बोटहरू
धरती ढाक्ने गरी
फक्रनेछन विश्वासका कोपिलाहरू ।
तर यहां त, अहिले बगैँचाको इतिवृत्ति
जय विजयका डोबहरू
विषालु औजारबाट खन्न सुरू भएका छन्
बगैँचा भित्रको वर्तमान कथा नै
धमिलो अक्षरले लेखिएका छन्
वेइमान मालीहरूले
विरुवामा विष हाल्न थालेका छन्
त्यसैले त यस बगैँचामा
फूल्न सकेनन् फूलहरू
फक्रन सकेनन् विश्वासका कोपिलाहरू ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक