तेस्रो मुलुकतर्फ चेली बेचिने क्रम बढ्दो

फलेवास (पर्वत), २१ भदौ । पछिल्लो समयमा चीन कोरिया, खाडी र अफ्रिकी मुलुकमा नेपाली चेलीबेटी बेचबिखन हुने क्रम बढेको पाइएको छ ।

केही वर्षअघिसम्म भारतका कोठीमा नेपाली चेली बेचबिखन हुने गरेकामा पछिल्लो समयमा खाडीलगायतका तेस्रो मुलुकमा बेचबिखन बढेको हो ।

भारतमा लैजानेका विरुद्ध विभिन्न क्षेत्रबाट कडाइ हुन थालेपछि पर्वतलगायतका जिल्लाबाट रोजगारीको प्रलोभनमा तेस्रो मुलुकमा बेचबिखन हुन थालेको हो । खाडी मुलुक, अफ्रिकामा हेरविचार गर्ने सुसारे, घरेलु कामदार, डान्सबार, डिस्कोमा लगाउन महिलालाई पठाउने गरिएको यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले चेतना र आर्थिक अभावका कारण पनि महिला बेचबिखनमा परेकाले सचेतना जगाउन जरुरी भएको बताउनुभयो । तेस्रो मुलुकमा हुने महिलाको बेचबिखन रोक्नका लागि गाउँ तहसम्म जनचेतना जगाउन आवश्यक भएको उहाँको भनाइ थियो ।

नेपाल प्रहरीले गरेको अनुसन्धानका क्रममा यस्तो मुलुकमा जाने महिला बढी यौन हिंसामा पर्ने र जोखिमपूर्ण काममा लगाउने गरिएको छ । “रोजगारीको राम्रो अवसर देखाउँदै तेस्रो मुलुकमा बेचबिखन हुने महिलालाई यौन क्रियाकलापमा समेत लगाउने गरिएको छ”, जिल्ला प्रहरी कार्यालय पर्वतकी प्रमुख प्रहरी नायब उपरीक्षक गङ्गा पन्तले भन्नुभयो, “झुक्याएर दलालले पठाउने र त्यहाँ पुगेपछि यौन क्रियाकलापमा लाग्न बाध्य पारिँदै आएको छ ।”

जिल्लामा राहदानी लिन आउनेलाई वैदेशिक रोजगारीका अवसर र जोखिमका बारेमा जानकारी गराउने उद्देश्यसमेत राखिएको उहाँले बताउनुभयो ।

तपाइँको प्रतिक्रिया ।