यौटै गाउँ हुँदैछ विश्व : त्रिलोचन आचार्य (कविता )

यौटै गाउँ हुँदैछ विश्व : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाडौं, पुस ६।
१. बाटो घाम र जूनले लिइदिँदा संसार यो चम्कियो
पाई ज्योति हराभरा हर पला सिङ्गै धरा गम्कियो
बाटोमा जलले कुदेर सजिए प्राणी अनेकौँ यहाँ
बाटो रोज्न हवा स¥यो अघि अहा ! यो रम्य संसारमा
२. मान्छे खुल्छ रमाउँदै प्रगतिको बाटो समाएपछि
झन् आह्लादित बन्छ चुम्दछ खुसी गन्तव्य पाएपछि
अग्लो बन्छ फुरुङ्ग हुन्छ मनुवा टेक्ने बनी जूनमा
बोक्दै बस्छ लिएर चिन्तन अझै पुग्ने भनी घाममा
३. नानी रुन्छ कहाँ छ खै पथ भनी च्याँ च्याँ गरी आत्तिँदै
बाटो खोज्न भनी दगुर्नु छ सधैँ लड्दै र भिड्दै रुँदै
खोलाले पनि दौडिएर तलकै बाटो लियो ठाँटको
जानै पर्दछ रे अवश्य सबले बाटो कुनै घाटको
४. बाटोमा व्यवहारकातिर कुदे खेला अनेकौँ हुने
भन्दै साधु हिँडे उठेर म कुनै ध्यानी तपस्वी हुने
बाटोमा धनको हिँडे सब जना होला लडाईँ यहीँ
भन्दै किन्तु बसे सबै बसिरहे हौँला जहाँको त्यहीँ
५. बाटो बुद्ध हिँडे कतातिर भए कैल्यै नमर्ने उनी
सक्नै पर्छ बढाउनै कदम यी राम्रो नराम्रो चिनी
मान्छे शान्ति र कान्तिको पथ हिँडे कालो रहन्थ्यो कहाँ ?
मान्छे स्नेह र प्रेमको बनिदिए जालो रहन्थ्यो कहाँ ?
६. बाटो मात्र किसानले भुलिदिए चल्दैन चुलो कतै
यो विज्ञान सुते बनेर लठुवा बन्दैन कुलो कतै
भेट्दैछौँ सुविधा अनेकन नयाँ बाटो खनेरै त हो
यौटै गाउँ हुँदैछ विश्व भव यो, बाटो बनेरै त हो  ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।