हिमरश्मि यु–१९ भलिबल आजदेखि

हिमरश्मि यु–१९ भलिबल आजदेखि
कपन अनलाइन
काठमाण्डौ,पुस २।

हिम रश्मिको आयोजनामा प्रथम हिम रश्मि कप यु–१९ कलेज÷स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।
प्रतियोगितामा २१ टिमको सहभागिता रहने हिम रश्मिका संस्थापक प्रिन्सिपल लोकेन्द्रबहादुर खड्काले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई ८ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
प्रिन्सिपल खड्काले राष्ट्रिय खेल भलिबलको लोकप्रियतालाई कदर गर्नुका साथै विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए । उनले प्रतियोगिताबाट उत्कृष्ट खेलाडी पहिचान गर्न मद्दत पुग्ने बताउदै राष्ट्रिय खेलाडी उत्पादन गर्नु हिम रश्मिको मुख्य उद्देश्य भएको बताए ।
शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः २५ हजार, १५ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता सञ्चालन गर्न करिब ६ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा प्रिन्सिपल खड्का, हिम रश्मिका अध्यक्ष तीर्थबहादुर गुरुङ, भाइस प्रिन्सिपल नारायण सेढाईं, रेफ्री सह–संयोजक कपिल जिसी र इसीए इन्चार्ज एमपी अम्गाईंले प्रतियोगिताको ट्रफी पनि सार्वजनिक गरेका थिए । खेलहरु तार्केश्वर नगरपालिका ९ स्थित आयोजकको कोर्टमा हुनेछ ।

तपाइँको प्रतिक्रिया ।