साहित्यको सिर्जना : अविचल आस्था मणि ( कविता )
मीठो शब्द बनोट बिम्ब रचना नारायणी अब्बल
पाएँ उत्तम मानवीय ममता सन्तोषको सक्कल
चिन्ने चाख चढाइँदैछ जसरी आरामदायी कला
पक्का मिल्छ सुझाव ज्ञान गुणको बढ्ने गरी शृङ्खला ।
देख्दा रूप विशिष्ट पावन सदा सम्पन्नताको जड
श्रद्धा ज्ञान निदान पूर्ण छ हुने नाघेर जो औसत
केही आज खुलोस् विचार बलियो पर्खन्छ स्रष्टा मन
भिक्षा माग्दछ प्रेरणा हजुरको पैँचो मिलोस् साधन ।
लेख्ने के कसरी सिकाउनु छिटो साहित्यको सिर्जना
गर्ने उत्तम प्राप्त गर्न नतिजा मेट्ने सबै तिर्सना
बाधा दूर हटाउने सफलता मिल्ने सबैमा वर
बक्सेला सजिलै सबै किसिमका सारांशका उर्वर ।
केही ज्ञान दिलाइयोस् हजुरले त्यो छाल बग्ने कला
चल्ने जीवन मार्गमा सहज होस् कर्तव्य सङ्लो भला
सच्चा सेवक बन्न खोज्छ कवि यो आदर्श सादा सफा
लेख्ने गर्दछ काव्यका सिलसिला उत्पन्न बन्दा कथा ।
भित्री तथ्य कुरा विमर्श गरियोस् सिक्ने कसोरी कहाँ ?
रच्ने सार्थक काव्य यो कवि गरोस् सामर्थ्यमा योजना
अर्काको उपकार गर्न सकियोस् हाँसेर चासो भरी
बग्दै लेकहिमालबाट जसरी आए झरी निर्झरी ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक