दुइ चार दल मिलेर उडाए नियम कानुनको खिल्ली

संविधान जारी गर्ने समय घर्किनै लाग्दा प्रधानमन्त्री कार्यालयमा बसेको तीन दल तथा मधेषी मोर्चाले संविधानसभाको म्याद थप्ने निर्णय गरेर कानुनी राज्यको उपहास मात्र गरेनन् जनताको लोकतन्त्रको चाहनालाई पनि धक्का पुर्याएको छ ।

जनताको शान्ति र संविधानको चाहनामा दलहरूले ‘लोप्पा’ खुवाउँदै कानुनी राज्यमा सर्वोच्च अदालतको फैसलाको उपहास गर्ने काम दलहरूले गरेका छन् । पटक-पटक थपिएको संविधानसभाको म्यादबाट दिक्क भएका जनताको भावनालाई बुझेर सर्वोच्चले ९ मंसिर २०६८ मा गरेको फैसलालाई अनादर गर्दै जनतालाई फेरी एकपटक निराश बनाएका छन् ।
सत्तामा झुण्डिरहने र आफ्नो दलीय स्वार्थभन्दा माथी नउठ्ने दलहरूको प्रवृत्तीले नेपालमा संविधानको निर्माण हुने बाटोमा रहेको काँडाले फेरी पनि उग्र रूप लिएको छ । नेपाली जनताले सर्वोच्चले गरेको फैसलाबाट केही आशावादी भएका थिए की दलहरूले सर्वोच्चको फैसलालाई संविधान निर्माण गर्ने अन्तिम अवसरको रूपमा लिएर समयमै संविधान दिन्छन् । तर ठिक त्यसको विपरित दलहरुले दलगत स्वार्थमा लागेर जनताको भावना अनुसार नभई पार्टीको तथा व्यक्तिगत स्वार्थको खेती गर्दै पहिलोपटक कानुनी राज्यको उपहास गरेका छन् ।
जनतामा संविधान समयमा नबनेकोमा असन्तुष्टी बढिरहेको अवस्थामा दलहरुले गरेको यस्तो निर्णयले जनतामा निराशा त छाएको छ नै त्यस भन्दा पनि अब जनता सडकमा आउने सम्भावना पनि बढेको छ । वर्षौदेखी शोषीत, दलित, उत्पिडित जनतामा बिस्तारै देखिँदै आएको ज्वालाले उग्ररूप लियो भने देशमा झन् अराजक र अशान्तिको स्थिति पैदा हुने सम्भावनालाई इन्कार गर्न सकिन्न । दलहरूले कानूनी सर्वोच्चतालाई चुनौती दिएका छन् तर जनतामा तिव्र रूपले बढ्दै गएको उनीहरूप्रति वितृष्णा, आक्रोशलाई भने त्यति सहज ढङ्गले थेग्न सक्ने छैनन् ।
कानूनी राज्य र लोकतन्त्रको जनताको चाहनालाई कुण्ठित गर्ने जुन काम दलहरूले गरेका छन् त्यो अत्यन्त नै निन्दनीय छ । यसलाई दलहरूले पुन:विचार गर्नु जरूरी छ ।
तपाइँको प्रतिक्रिया ।