सेनाका महासेनानीद्धय भारती र मेधासीलाई सहायक रथीमा बढूवा

२३ जेठ, काठमाडौ । सरकारले नेपाली सेनाका महासेनानीद्वय दीपकप्रसाद भारती र देवेन्द्रबहादुर मेधासीलाई सहायकरथी पदमा बढुवा गरी पदस्थापनाका साथै नेपाली सेनाका आठ सहायकरथीको सरुवा समेत गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले वैठकपछि दिएको जानकारीअनुसार  प्राविधिक महासेनानी डा राजेश पन्त तथा सहायकरथीद्वय पदमविलास कार्की र विजय मोक्तानको पदवाधि थप गर्ने निर्णय समेत भएको छ।
त्यस्तै सरकारले ‘जलसाधन आयोजना तयारी सुविधा’ कार्यक्रमका लागि एसियाली विकास बैंकले उपलब्ध गराउने एक करोड १० लाख अमेरिकी डलर अनुदान सहायता प्रदान गर्ने विषयमा बैंकसँग नेपाल सरकारका तर्फबाट वार्ताटोली गठन गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले सो टोलीलाई वार्ता अख्तियारी समेत दिने निर्णय गरेको यादवले जानकारी दिए।
बैठकले गत चैतमा बैतडी जिल्ला श्रीकृष्ण उच्चमावि पाटन केन्द्रमा परीक्षा दिने क्रममा सामूहिक बलात्कारको पीडा भोगेकी छात्रालाई उपचार गर्न उनका बाबु मार्फत रु एक लाख उपलब्ध गराउने निर्णय गरेको छ।
सरकारले शिक्षा मन्त्रालय र वनारस हिन्दू विश्वविद्यालयबीच वनारस हिन्दू विश्वविद्यालयमा नेपाल चियर राख्ने विषयमा तयार गरिएको समझदारीपत्रमा हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ। -रासस
तपाइँको प्रतिक्रिया ।