मुक्तक दोहोरी : रामकुमार श्रेष्ठ ‘फुच्चे’ (बिरामी र डाक्टरको भुमिकामा)
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर १६ ।
बिरामी
रोग एउटा छ रिपोर्ट अर्कै दिन्छौं किन डाक्टर,
मान्छे नै हुन पशुुलाई झै किन्छौ किन डाक्टर !
टाउको दुख्दा पेट चिर्छौ आखा दुखे मुटु छाम्छौ,
अभाबमा जिउने कै ज्यान लिन्छौं किन डाक्टर !!
डाक्टर
तिमी जस्तो कयौंको ज्यान बँचाकोछु तिम्लाई केथा,
पैसा आउने ठाउँ हेरेरै जँचाको छु तिम्लाई केथा !
आज भ्याईन भोलि आउनुस भोलि हैन पर्सि भन्दै,
मौका छोपि एस्तै कति नचाकोछु तिम्लाई केथा !!
बिरामी
बेथिति को यस्तै बेथा बोक्छौ कति दिन,
अन्धाधुन्ध सेवा शुल्क तोक्छौ कति दिन !
स्वास्थ्य जस्तो संबेदनसिल क्षेत्र समेत सधै,
आन्दोलन को नाउँमा सेवा रोक्छौ कति दिन !!
डाक्टर
हाम्रा पनि होलान नि माग पूरा हुनु पर्ने
चित्त बुझ्ने खालको सबै कुरा हुनु पर्ने !
लिनैप¥यो सेवा शुल्क लागेजति ओैषधिको,
तर किन सधैं मुटु रेट्ने छुरा हुनु पर्ने !!
बिरामी
हतार हुन्छ सधैं तिमीलाई निजि क्लिनिक धाउन भने,
छिट्टै जुट्छौ बन्द हट्ताल नारा जुलुस लाउन भने !
अस्पतालको शैयामा चाँप बढेमा बिरामिको,
सास्ती धेरै खेप्नुपर्छ उचित सेवा पाउन भने !!
डाक्टर
त्यसै पैसा कोहि कसैले लिएको त छैन होला,
बिरामीको ज्यान लिने सोच पक्कै हाम्रो हैन होला !
धामीझाँक्री लगाउछौ अन्तिम परे डाक्टर खोज्छौ,
झारफुकले हुने भए डाक्टर चाँहिदैन होला !
बिरामी
मरेकालाई बाच्छ भन्दै अक्सिजन जोड्छौ अरे,
अपरेसन सकेपछि कैँची भित्रै छोड्छौ अरे !
उपचारमा तल माथि गर्दा ज्यान गएपछि,
क्षतिपूर्ति भन्ने कुरा तिम्ले अन्तै मोड्छौ अरे !!
डाक्टर
मेरो जस्तै दुख्ने मुटु सबको छनि बुज्छु,
गल्ती होलान कमि होलान हाम्रो पनि बुज्छु !
दुईछाक टार्न धौधौ होला अरु कुरा परै जाओस,
सबजानाले पाउनु पर्छ स्वास्थ्य सेवा भनि बुज्छु !!
बिरामी
बिरामीको उपचारमा बिचार गर्न सिक्नोस डाक्टर,
कुनियतको जरो अजै दिलैदेखि झिक्नोस डाक्टर !
बेकाम बन्लान डाक्टरीको सर्टिपिकेट थन्किएलान,
हैन भने सबजनाको मन जितेर टिक्नोस डाक्टर !!
डाक्टर
सहि ढंगले बिरामीको उपचारमा लाग्छु अब,
गल्ती भयो सबको सामु माफी पनि माग्छु अब !
स्वास्थ्य माथि खेलवाड गर्ने अधिकार छैन पक्कै,
सबजनालाई जगाउदै आफु पनि जाग्छु अब !!
बिरामी
लापरबाही र समस्यामा पर्नुहुन्न कोही बिरामी,
समान हुन सबै भेदभाव गर्नुहुन्न कोही बिरामी !
स्वास्थ्य क्षेत्र सुधार भाको हेर्न मन छ छिट्टै अब,
उपचारको अभावमा नै मर्नुहुन्न कोही बिरामी !!
डाक्टर
स्वास्थ्य क्षेत्र सुधार गर्न लागि पर्छौ आजैबाट,
सबजनाको मन जितेर अघि सर्छौ आजैबाट !
लापरबाही ढिलासुस्ती बेथितिको अन्त्य गर्दै,
दक्षता र प्रविधिको प्रयोग गर्छौ आजैबाट !!
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक