तौलिहवा क्षेत्रमा निषेधित क्षेत्र घोषणा सात दिन लम्ब्याइयो

कपिलवस्तु, १७ भदौ । सदरमुकाम तौलिहवा क्षेत्रलाई स्थानीय प्रशासनले थप सात दिनका लागि निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालय चोक आसपासका २५० मिटर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

निषेधित क्षेत्रभित्र राजनीतिक दलको कुनै पनि कार्यक्रम, धर्ना, जुलुस प्रदर्शन गर्न नपाइने र कसैले जबर्जस्ती गर्न खोजे सुरक्षाकर्मीबाट गोलीसम्म प्रहार हुनसक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

चितवनदेखि कञ्चनपुरसम्मको क्षेत्रलाई थरुहट मधेस प्रदेश घोषणा गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका मधेसी मोर्चाको बन्दका कारण कपिलवस्तु जिल्ला २२ दिनदेखि प्रभावित बनेको छ । बन्दका कारण सदरमुकाम तौलिहवा, चन्द्रौटा, कृष्णनगर, पकडी, मर्जादपुरलगायतका क्षेत्र ठप्प छ । सरकारी कार्यालयहरुमा सेवाग्राहीको उपस्थिति छैन । बजार, सडक र गल्लीहरु सुनसान छन् ।

तपाइँको प्रतिक्रिया ।