बाटो आफैँ झलमल छ त्यो : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाडौं, मङ्सिर १।
१. बाटो हिँड्दै कति जन उचा लक्ष्य चुम्ने रहेछन्
हिँड्दा हिँड्दै सकल ग्रहको कक्ष्य चुम्ने रहेछन्
बाटो छोड्ने असफल बनी ढल्छ यौटा कुनामा
पैह्रो जान्छन् सकल दिलका उर्वरा चाहनामा
२. आफ्नै बाटो खुरुखुरु हिँडी घाम चम्की रहेछ
आफ्नै पाखो हर पल कुदी याम लम्की रहेछ
आफ्नै ढोका हरपल खुला राख्न खोज्दैछ बेला
लम्के आफ्नै पथ असजिला आउँदैनन् झमेला
३. सानो नानी टुकुटुकु कुदी खोज्छ बाटो कता हो ?
यात्री यात्रातिर सजग भै सोध्छ बाटो कता हो ?
गर्दै झर्ना छङछङ उसै चिन्छ बाटो कता हो
बाटो आफैँ झलमल छ त्यो फूलबुट्टे लताको
४. पोख्दै चोखो श्रम र पसिना खोज्नु बाटो रमाई
पुज्दै माटो हर पल जुटोस् जिन्दगीको कमाई
बाटो रोजे असल मनले खुल्छ कर्तव्य राम्रो
राम्रै बाटो भरसक हिँडौँ मिल्छ गन्तव्य राम्रो
५. बाटो हिँड्दै जब सहिदले न्यायको मार्ग खोले
बिर्सी आफ्नै सुख र सुविधा सत्यका निम्ति बोले
बाटो रोज्दै प्रतिपल कुदे भानु लक्ष्मी खटेर
बाटो खोज्दै हरपल हिँडे बुद्ध गान्धी डटेर
६. माटो बिर्से फगत त्यसको हुन्छ माटो विकल्प
बाटो भत्के फगत त्यसको हुन्छ बाटो विकल्प
बाटो नै हो शिखर सुखको भेट्न सक्ने कुदेर
लागौँ जागौँ तब शिखरमा पुग्न सक्छौँ हिँडेर।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक