प्रपन्नाचार्यका अप्रकाशित कृति प्रकाशन गरिने

काठमाडौँ, १६ भदौ । डा. स्वामी प्रपन्नाचार्यको १३ औँ पुण्य तिथिका अवसरमा आज यहाँ आयोजित श्रद्धाञ्जलि कार्यक्रममा उहाँका अप्रकाशित कृतिलाई प्रकाशन गर्ने घोषणा गरिएको छ ।
download

        डा. स्वामी प्रपन्नाचार्य

पशुपतिनाथ, मृगस्थलीस्थित उहाँको समाधिस्थलमा आज आयोजना गरिएको उहाँका नजिकका भक्तको उपस्थिति भएको कार्यक्रममा शिष्य हरिप्रसाद सोडारीले सो जानकारी दिनुभयो । स्वामीको यही भदौ ४ गते निधन भएको थियो ।

कार्यक्रममा प्रपन्नाचार्यका अप्रकाशित १० पाण्डुलिपिलाई छिटो प्रकाशन गर्ने, प्रकाशित ६० कृतिमध्ये बढी खोजी भइरहेका ‘वेदमा के छ ?’, ‘मिल्किएका झिल्का’ र ‘प्राचीन किरात इतिहास’लाई पुनःप्रकाशन गर्ने लगायत विषयमा छलफल भयो ।

“कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले विसं २०७३ असार ११ गते डा स्वामी प्रपन्नाचार्य स्मृति ग्रन्थ प्रकाशन गर्ने निर्णय गरेको छ, स्वामी प्रपन्नाचार्यका नाममा संस्था स्थापना गरी वैदिक वाङ्मय र पूर्वीय दर्शनका विषयमा अध्ययन अनुसन्धान गराउने छलफल भएको छ, यसको घोषणा भदौ १९ गते पशुपतिमा गरिनेछ”, सोडारीले भन्नुभयो ।

पुण्यतिथिका अवसरमा आज वैदिक र रामानुज परम्पराअनुसार धार्मिक अनुष्ठान गरिएको छ । चार वैदिक ब्राह्मणले चार वेद पाठपारायण र आठ रामानुज सम्प्रदायका ब्राह्मणले गीता, श्रीमद्भागवत् र विष्णुसहस्रनामलगायत ग्रन्थ पाठ गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।