बाटुलीको कथा : राजेश अधिकारी (कविता )

बाटुलीको कथा : राजेश अधिकारी (कविता )

कपन अनलाइन
काठमाडौं, कात्तिक १०।

दुई चुल्ठा बाटेकी अबोध बाटुली
जून झैं मुस्काइरहने बालपरी थिई
छरिती हंशमुख चुल्बुले बाटुली
चरी झैं चिर्बिराउने कोकिलकन्ठी थिई ।

बाटुलो मुहारकी मनमोहिनी बाटुली
सुन्दर सुनखरी झैं निश्छल थिई
लाडप्यारमा हुर्केकी चन्द्रमुखी बाटुली
मौरीको रानो झैं गाउँकै प्यारी थिई ।

गरिवीमा हुर्केकी पहाडी बाटुली
प्रकृतिकी बिछट्टै राम्री रचना थिई
शैशव उद्यानकी कोपिला बाटुली
फूल झैं फक्रदै बैंशोन्मुख हुँदै थिई ।

रजस्वलासँगै किशोरी भएकी बाटुली
जवानीको सोपान चढ्ने नवयौवना थिई
उमंग र जोशले ब्याप्त बैँशालु बाटुली
स्वप्निल संसारकी परिकल्पनाकार थिई ।

चित्ताकर्षक रूपकी सुकुमारी बाटुली
सकल प्रणयी दिलहरूकी स्पन्दन थिई
लाउने–खाने रहर पालेकी पाखे बाटुली
रंगिन शहरी संसारमा रम्न उद्वत थिई ।

लहैलहैमा शहर छिरेकी अल्लारे बाटुली
यौटा झिल्केको गिद्देदृष्टिमा परेकी थिई
स्वार्थीको जालमा फँसेकी निर्दोष बाटुली
प्रेमीद्वारा नै वेश्यालयमा बेचिएकी थिई ।

रतिमन्दिरको चारदिवारीभित्र कैद बाटुली
यौनपिपासुका प्यास बुझाउने साधन थिई
पीडा पिएर रोदन लुकाउन वाध्य बाटुली
देह लुट्ने ब्वाँसाहरूकी अभीष्ट शिकार थिई ।

दैनिक मरेरै बाँच्ने नियतीकी पीडित बाटुली
सुनको अन्डा दिने वाध्यकारी कुखुरी थिई
यौन कठपुतली हुन विवश लाचार बाटुली
स्वनग्न भै परआनन्द दिने यन्त्रमानव थिई ।

असह्य शोषणले बिक्षिप्त कोमल बाटुली
जीवन–मरणको दोसाँधमा तड्पिरहेकी थिई
बैँशभर रस चुसिएर खोस्टो बनेकी बाटुली
निकम्मा दरिई कोठीबाट गलहत्याइएकी थिई ।

सर्वस्व लुटिएकी बेघर सडकछाप बाटुली
असह्य भोकप्यास र थकानले अक्रान्त थिई
ग्लानी र घृणाको जाँतोमा पिसिएकी बाटुली
प्रतिकुल गोरेटोमा घस्रिएर पाइला चाल्दै थिई ।

बालापन र जवानी कल्पिदै भक्कानिएकी बाटुली
परमस्नेही जन्मघरको पूर्वदीप्तिले मुस्काउँदै थिई
शहर छेउकै सागर किनारमा उभिएकी बाटुली
आफ्ना स्वर्णिम अतीत सम्झेर छाल झैं रुँदै थिई ।

मर्ने र बाँच्ने दुविधामा परेकी असहाय बाटुली
आत्महत्याको कठिन बाटो रोज्न मजबुर थिई
धर्मसंकटको भुमरीमा रुमलिएकी अवला बाटुली
अन्ततः समुद्रको गर्भमा डुबी कीर्तिशेष भएकी थिई ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।