८५औँ स्रष्टा पदयात्रा र गोकर्ण देशे गाउँ : महेन्द्र चालिसे (नियात्रा)
कपन अनलाइन
काठमाण्डौ ,भाद्र ३१।
“भदौ १ गते शनिवार ११ वजेतिर प्रतिष्ठानमा आउनु है । स्रष्टा पदयात्रा टोली त्यहाँ आएर कविता वाचन गर्ने र त्यही खाना खाने कार्यक्रम राखेको छ”– साउनको ३० गते विहान आरुबारी चोकमा भेटेर दाइ (विजय चालिसे)ले खवर गर्नुभयो । हस्, त्यसो भए मिल्यो भने पद्यात्रा मै सहभागी हुन्छु नी म पनि – दाइलाई भनें । भन्न त पदयात्रामा सहभागी हुन्छु भने तर पदयात्राको नियम अनुसार प्रत्येक महिनाको २६ गते सम्ममा सहभागी हुनेहरुले टो. ने (टोली नेता शितल गिरी दाजु) समक्ष नाम टिपाउनु पर्छ तर यहां त ३० गते भैसक्यो । हतार हतार पदयात्रा समूहका सदस्य प्रतिक घिमिरेलाई खबर गरें –प्रतिक, पर्सिको पदयात्रामा मेरो नाम पनि टिपाउँ त ।
“दाइ, नाम त २६ गते सम्ममा लेखाइसक्नुपर्छ । मैले शितलदाइलाई कुरा गरेको उहाँले तपाईं स्थानीय पनि हुनु भएको र रमेश विकल साहित्य प्रतिष्ठानको सदस्य र एक चरणको कार्यक्रम प्रतिष्ठान मै हुनेभएकोले सहभागी हुन सक्नु हुन्छ । त्यसैले त्यसदिनको पथ प्रदर्शक आलोक हो, कहाँ के कसरी जाने बारे उस्लाई सोध्नु भए हुन्छ”– भनेर प्रतिकले जवाफ दिए । अनि मैले आलोकलाई खवर गरेपछि उस्ले सवै कुरा मेसेजमा पठायो ।
म स्रष्टा पदयात्रामा जाने कुरा थाहा पाएपछि मेरो २ जना साथीहरु बद्री पौडेल र नारायण जोशीले पनि इच्छा व्यक्त गर्नुभयो । मैले कसैलाई नसोधी हुन्छ भनिदिएँ । तैपनि पक्कै चाहिं पछि गरौंला भनेको थिएँ । किनकि मलाई पनि त्यो पदयात्राको नियमहरुको जानकारी थिएन । हुन त म यसअघि ४९ औं पदयात्रामा सहभागी भएको थिएँ । त्यतिवेला हामी इन्द्रावती क्षेत्रमा गएको थियौं र त्यस्को संयोजन मैले नै गरेको थिएँ । हालमा त यो यात्रा समुह जिल्ला कार्यालयमा दर्ता भैसकेको छ र यस्ले कानुनी वैधता हासिल गरिसकेकोले पक्कैपनि यस्का नियमहरु त होलान् । ल फेरि हिंड्नु त हामी हिडौंला किनकि यो हाम्रो आफ्नै क्षेत्र प¥यो । खाने कुरा पनि त छ । त्यसैले मैले यस ८५ औं स्रष्टा पदयात्राको संयोजक एवं त्यस दिनका पथ प्रदर्शक भतिजा आलोकलाई मसंग अरु २ जना हुन्छन् उनीहरुलाई पनि खानाको व्यवस्था मिला है, भनेर खवर गरें । उस्ले ए, भैहाल्छनी” भनेपछि ढुक्क भएँ ।
सान्दाइ, “तपाईं स्रष्टा पदयात्राको लोगो भएको टिशर्ट लगाउने कि आफुखुसी जाने ?” ३२ गते शुक्रवार राति ८ वजेतिर आलोकले फोन ग¥यो । मसँग त्यस्तो टिसर्ट छैन, म अमेरिकै हुदा प्रतिकलाई किनिराखन त भनेको थिएँ, उस्ले “नेपाल आएपछि नै किनौंला नी भनेको थियो, त्यसपछि केही कुरै भएन, त्यसैले आफुखुसी नै लगाएर जानुपर्ला भनेर आलोकलाई भनें ।
“ल त्यसो भए मसंग एउटा जगेडा छ । प्रतिकदाईलाई भनेर किनेको, दाइले किनिसक्नु भएछ, म भोलि विहान आउँदा ल्याइदिन्छु” आलोकले हिंड्ने बेलामा पदयात्राको लोगो अंकित टिसर्ट उपलब्ध गराइ दियो र म त्यही पहिरनमा गएँ ।
प्रत्येक महिनाको पहिलो शनिवार स्रष्टा पदयात्रीहरुको विभिन्न स्थानमा पदयात्रा गर्न सुरु गरेको २०८१ भदौ १ गते ८५ महिना अर्थात् सात वर्ष पुरा भैसकेछ । यो ८५ औं श्रृंखलामा यो समुहको पदयात्रा नारायणटार स्थित वाग्मतीको पुलबाट सुरु भएर माकलबारीको बाटो हुँदै गोकर्ण वाग्मती ड्याम, पारी चौरबाट वागमती भिरखोरनी पुल, जहाँबाट हास्यव्यंग्य महारथी भैरब अर्यालले फाल हालेर आफ्नो इहलिला समाप्त पार्नुभएको थियो तर्दै गोकर्णेश्वर मन्दिर दर्शन गर्ने त्यहाँबाट गोकर्णगाउँ जस्लाई अहिले देशे गाउँ भनिन्छ, त्यहाँ केही स्रष्टाहरुले रचना पाठ गरेर त्यहाँबाट उत्तरवाहिनी स्थित पंचमुखी हनुमान र कान्ती भैरव दर्शन गरेर पुनः गोकर्ण भगवतीस्थान, पानी खोल्चा हुँदै रमेश विकल साहित्य प्रतिष्ठानमा आएर रचना पाठ गर्ने र खाना खाएर पहिलो चरणको कार्यक्रम सकेर दोश्रो चरणमा जगडोल स्थित शहीद पार्क जाने कार्यक्रम तय थियो ।
आलोकसँग संयोजन गर्दै श्रष्ठा पदयात्राका सहभागीहरु (प्राप्त लिस्ट अनुसार क्रमवद्ध) लिलाराज दाहाल, दिपक लोहनी (दोश्रो चरणमा मात्र सहभागी), बसुदेव ठकुरी, डिल्लीराज अर्याल, एंजल निलु, शारदा पराजुली, परशुराम पराशर, कल्पना आचार्य, आलोक चालिसे, नारायण भण्डारी ‘जनकपुरी’, डा. यादेवी ढकाल, डा. बालचन्द्र मिश्र, भोजराज रेग्मी मुखाले, विष्णु खनाल, मुरारी सिग्देल (रमेश विकल प्रतिष्ठानमा आएपछि मात्र) शितल गिरी (टोली नेता), माधवलाल श्रेष्ठ, विमल अर्याल, वसन्त रिजाल, गंगा प्रसाद भेटवाल, (टोली उत्तरबाहिनीबाट फर्केपछि गोकर्णेश्वर भन्दिरमा भेटिएको), प्रतिक घिमिरे, दिपक भेटवाल, मन्दिरा मधुश्री, मेनका पोखरेल, गोविन्द घिमिरे वेदमणी, दुर्गा भवानी भट्ट, रुवी सत्याल, जयराम विडारी, वासुदेव गुरागाईं, निवन्ध आचार्य (छोरा सहित प्रतिष्ठानमा उपस्थित), शोभा पोखरेल, अन्जु तिमल्सिना घिमिरे, राधा वोहरा, विष्णु प्रसाद शर्मा पराजुली, हरिष कल्पित, माधव घिमिरे अटल, प्रभा वराल, हरीबोल काफ्ले, सुमन पुडासैनी, जयबहादुर घिमिरे, खुस्वु रिजाल गरी टोलीका ४२ जना पदयात्रीहरुलाई म (महेन्द्र चालिसे) लगायत बद्री पौडेल र नारायण जोशीले माकलवारी स्थित वाग्मती पुलमा स्वागत गरी सोही टोलीमा मिसियौं । टोलिमा सहभागी मध्ये लगभग आधा आधी स्रष्टाहरुसँग प्रत्यक्ष परिचित थिए भने बाँकि केहीका नाममा मात्र परिचिय थियो र केहीसँग कुनै परिचय थिएन । त्यहाँ कुनै परिचय गर्ने औपचारिकता थिएन, आफु आफुमा ‘म फलानो” भन्दै चिनाउने बाहेक । मैले पनि केही साथीहरुसँग परिचयको प्रयास गरेको थिएँ, तर खै ? सवै आफु आफु समुह बनाएर हिंड्दै गरेकोले ऊहांहरुलाई लाई परिचय गर्ने आवश्यक महसुस खासै भएन जस्तो लाग्यो र त्यस पश्चात मैले पनि उहाँहरुसँग परिचयको प्रयास गरिन ।
माकलवारी हुँदै हामिहरु बाग्मती ड्याम, जस्लाई पहिला पहिला वायु ढुंगा पनि भनिन्थ्यो । त्यहां वेसी गाउँका चालिसेहरुले आफ्नो देवाली पुजा गर्ने गर्छन् । त्यहाँ पुगेर साथीहरु फोटो खिच्न थाल्नुभयो । त्यस बीचमा मन्दिरा मधुश्रीले ४९ औं पदयात्रामा मण्डन, माझीगाउं स्थित इन्द्रावती गएको स्मरण गराउनुभयो– “सारै रमाइलो भएको थियो” भनेर । वायुढुंगाबाट हामी राजनिकुञ्ज (गोकर्णको वन पनि भनिन्छ) को पर्खाल वाहिर हुँदै पारी चौर पुग्यौं । त्यहाँबाट भिरखोरनीको पुलमा साथीहरु फोटो खिच्न थाल्नुभयो । किनकी स्रष्टाहलाई यो पुल ऐतिहासिक महत्वको थियो । त्यही पुलबाट २०३३ साल असोज १९ गते स्रष्टा व्यंग्य शिरोमणि भैरब अर्यालले फालहाल्नु भएको थियो ।
त्यहाँबाट सवै स्रष्टाहरु गोकर्णेश्वर मन्दिर र वाग्मति किनारतिर लाग्यौं । नारायण जी(एन.वि. जनकपुरी), उ यो छत हालेर वनाएको डवली छ नी, हो हाम्रो अन्तिम गन्तव्य यही हो – मैले उहाँलाई हामी स्थानीयहरुको दाह संस्कार यही गरिन्छ भनेर संकेत गरें ।
“कुनै निश्चित छ र ?” “उहाँ प्रतिप्रश्न गर्नुहुन्छ । हो नि, कहाँ कुन अवस्थामा इहलिला समाप्त हुन्छ । यो सत्यलाई स्विकार्न त परिहाल्छ तै पनि म भनिदिन्छु– “सामान्यतया” ।
घाटको छेउमा रहेको वेलीव्रिज पार गरेर हामी पुनः परिचौर (हामि केटाकेटी हुँदै वाग्मती वारी रहेको सडकबाट पुल तरेर गोकर्ण गाउँ जाँदा त्यहाँ ठूलो चौर थियो जहाँ हामिहरु पूmटवल, भलिवल खेल्न जान्थ्यौं र त्यो चौरलाई पारी चौर भन्ने गथ्र्यौ हुँदै देशे गाउँ (नेवारी भाषामा, किनकि त्यहाँ नेवारहरुको मात्र धेरै पुरानो वस्ती छ) तर्फ लाग्यौं ।
देशे गाउँ अर्थात् गोकर्ण गाउँ, जहाँ मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन ठूलो जात्रा लाग्थ्यो, हामी केटाकेटी हुँदा त्यो हेर्न जाने गथ्र्यौं । जनश्रुती अनुसार गोकर्णेश्वरको देशे गाउँमा भक्तपुरबाट नवदुर्गाको गणहरु आएर नाच देखाउने गर्थे । यो क्रम देशमा प्रजातन्त्रको पुनस्र्थापना पछि अर्थात २०४६ साल पछि वन्द भयो । २०४६ अघिसम्म यो नाच हामिले पनि देखेका हौं । यो नाच नचाउन रणजीत मल्ल राजाको पालामा सुरु भएको हो भनिन्छ । २०४६ अघि हरेक वर्ष पौष शुक्ल पक्षमा भक्तपुरबाट गोकर्ण देशे गाउँमा आउने चलन थियो वाजागाजाको साथ ।
यो गोकर्ण देशे गाउँको बस्ति राजा मानदेवले वसालेको हो भनिन्छ । यो नाचचाहिं भक्तपुर दरवार क्षेत्रबाट नवदुर्गा, भैरब, गणेश लगायत विभिन्न देवी देवताको मूर्ति सहित नवदुर्गाका गण सहित पैदलनै टोखा–साङ्ला, चपली हुँदै देशे गाउँ आउने चलन छ । २०४६ साल देखि रोकिएको यो नाच सायद २ वर्ष अघि गोकर्णेश्वर नगरपालिकाको सकृयतामा फेरि सुरु भएको छ जस्तो लाग्छ । यो नाच गोकर्णेश्वर क्षेत्र, पशुपति क्षेत्रको जय वागेश्वरी, वनेपाको चण्डेश्वरी, टोखा चण्डेश्वरी, साङ्ला र ठिमीमा रहेका देवीको मन्दिर अगाडि समेत लागेर देखाउने चलन छ ।
तान्त्रिक विधि अनुसार नाच्नुपर्ने भएकोले दर्शकहरुलाई नपचेर गिज्याउने समेत गरिन्थ्यो रे, तर त्यसरी गिज्याउँदा अनिष्ट हुन्छ भन्ने चलन रहेको छ । प्रत्यक्ष दर्शीहरुका अनुसार २०३० साल तिर हुनुपर्छ वनेपा चण्डेश्वरीमा नाच भैरहेको वेलामा एक जनाले यस्तो जावो पनि नाच हुन्छ ?” भनेर खिसी टेउरी गरे रे, ती व्यक्तिले यति भन्न नपाइ नाचिरहेको गणले लगाएको चुराबाट आगो निक्लिएर आगालागी भयो रे त्यो वेला देखि यो नाचलाई कसैले पनि गिज्याउने गरेको छैन रे । गोकर्ण देशे गाउँमा चाहि यो नाच सहितको जात्रा तीन दिन सम्म चल्छ र जात्रा सकेर नवदुर्गा गण हिंडेरै भक्तपुर फर्कन्छ ।
हाम्रो टोली देशे गाउँ पुग्यौं, त्यहाँ कान्ती भैरवको दर्शन गर्नेहरुले दर्शन गर्नुभयो, अरुहरु आ–आफ्नो मोवाइलको क्यामरा खोलेर इच्छित क्षेत्रतर्फ तेस्र्याउँदै मनलागेको फोटोहरु खिच्न थाल्नुभयो । त्यही बीचमा एकजना सहभागी वहिनीले मिठो पुस्टकारी बाँड्नु भयो । भने अर्को बहिनीले अंग्रेजीमा एक्स्ट्रीम सावर क्यान्डी (खै कस्ले हो अमेरिकाबाट स्रष्टा पदयात्रीको बाँड्न पठाएको रे) नेपालीमा अमिलो नुनिलो भन्छ क्यार, वीसवटा मीठो चक्की, भएको प्याकेट सबैजनालाई बाँड्नु भयो । त्यहाँ पाँचजना स्रष्टाहरुले आ–आफ्नो रचना पाठ गरेपछि गोविन्द घिमिरे वेदमणिदाइले गोकर्ण देशे गाउँको ऐतिहासिक महत्त्वका वारेमा सवैलाई जानकारी गराउनु भयो । त्यसबाट अलि तल तुलजा भवानी जस्लाई चलन चल्तीको भाषामा तलेजु भवानी भनिन्छ यो मन्दिर रहेको छ । यो मन्दिर अर्थात तलेजु भवानीको स्थापना कस्ले र कसरी भयो भन्ने त कुनै जानकारी छैन तर राजाको दरवार भएको ठाउँमा तलेजु भवानी स्थापना गरिन्छ भन्ने मान्यता र ऐतिहासिक तथ्य अनुसार गोकर्ण देशे गाउँमा भएको तलेजु भवानीको स्थापना राजा मानदेवले गरेका हुन् कि भनेर अनुमान लगाउन सकिन्छ । किनकी मानदेवले वनाउन लगाएको मानगृह दरवार गोकर्णमा थियो भन्ने भनाइ जो रहेको छ । तलेजु भवानीको दर्शन गरेर हामी उत्तरवाहिनी जान हिंड्यौं त्यहाँबाट उत्तरवाहिनी जाने २ वटा सजिलो र १ वटा असजिलो बाटे थिए, हामिले समयाभावको कारण असजिलो तर छोटो बाटो रोज्यौं । बिचमा पुगेर वसन्त रिजालले सबैलाई चुईंगम बाडें ।
उत्तर वाहिनीको बारेमा सहभागीहरुलाई त्यसको जानकारी गराउनका लागि त्यहाँ गुरुकुलका गुरुहरुलाई खवर गरेको थिएं । उहाँहरुले हामिलाई निकै समय कुर्नु भएछ तर हामी ढिला भएकोले भेट हुन सकेन । उत्तरबाहिनीमा हामी खासै धेरै अलमल गरेनौं, त्यहाँ स्थित पंचमुखी हनुमान र कान्तीभैरवको दर्शन अवलोकन गरेर रमेश विकल साहित्य प्रतिष्ठानको लागि प्रस्थान ग¥यौं । गोविन्द घिमिरे वेदमणीदाइका अनुसार गोकर्ण देशे गाउँमा र उत्तर बाहिनीमा अवस्थित कान्ती भैरब दिदी बहिनी हुन् रे ।
हामी रमेश विकल साहित्य प्रतिष्ठान पुग्नु र कपन बानेश्वर साहित्यिक साप्ताहिकका सम्पादक निवन्ध आचार्य “लौ पदयात्रीसँग मिसिन म ट्याम्पो यात्री आइपुगें” भनेर आइपुग्नु एकैचोटी भयो । प्रतिष्ठानमा वस्न पहिले वनाएको ठाउँ घामको कारण परिवर्तन गर्न केही समय खर्चनुप¥यो । प्रतिष्ठानको कार्यक्रम अलिकति औपचारिकता दिनुपर्ने थियो किनकि त्यहाँ गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल र प्रतिष्ठान अवस्थित वडा नं. ९ का वडा अध्यक्ष राजिव थापालाई अतिथिको रुपमा वोलाइएको थियो । स्रष्टा पदयात्राका तर्फबाट पदयात्राका उद्देश्यका बारेमा शितल गिरीले बताउनु भयो भने प्रतिष्ठानका बारेमा प्रतिष्ठानका महासचिव विजय चालिसेले जानकारी गराउँदै पदयात्रीहरुलाई स्वागत गर्नु भएपछि त्यहाँ रचना वाचन सुरु भयो ।
मेरो चाहिं त्यस दिन एकचोटी मामाघर (बाबाको) पनि नगइ नहुने र २ वजेदेखि फ्रान्सको पेरिसमा ६ महिना अघि नै तय भैसकेको कार्यक्रममा जुममार्फत मैले प्रस्तुती दिनपर्ने भएकोले त्यहाँबाट १२ वजे तिर खाना खाएर सवैसँग विदावारी हुँदै खल्लोमन लिएर छुट्टिएँ मनमा एउटा अविस्मरिणीय संझना लिएर ।