मेरो बा : अविचल आस्था मणि (कविता )
कपन अनलाइन
काठमाण्डौ ,भाद्र ३० ।
बाबा ! आज बिहानको समयमा हावा चल्यो सर्सर
आभायुक्त मुहार झल्किन गयो साक्षात् खुला भर्खर
सम्झेँ सुन्दर काख जो हजुरको खेल्दै रमेको सफा
धेरै आर्जन ज्ञानको हुन गयो सुन्दै रमाई कथा ।
विद्यारंभ गराउँदा हजुरले राम्रो ’म’ बन्ने कला
सच्चा मानवता उकास्न सजिलो जो ज्ञानको श्रृङ्खला
सुस्तै तत्व सबै सिकाउनु भयो चाल्ने कसो पाइला
भन्ने ज्ञान अहो विचित्र प्रतिभा सम्झन्छु बाबा भला ।
बाबा सत्य सदा चिनाउनु भयो सन्तोषको पारखी
बन्ने उत्तम काइदा सरलता खोजेर सच्चा सखी
हिँड्ने कर्म उपासना नव भरी सङ्कल्प जागा गरी
बाबा उच्च महत्व नैतिक हुने पाएँ कला माधुरी ।
बाबा ज्ञान हुने उपार्जन मिल्यो भिन्नै नयाँ काइदा
सच्चा मानव भावना सहज होस् मिल्छन् लिए फाइदा
बोली निर्मल बोल्न चाख दरिलो आवाजमा मेलको
नौला शिल्प विवेक ज्ञान चुलियो आराममा खेलको ।
बाबा बक्सनु जो भयो हजुरले निर्धक्क लड्ने रण
जित्ने सार्थक यत्न रत्न सुविधा जम्मा हुने कारण
बाटो सज्जनको उजागर भए सौभाग्य आरोग्यको
मेरा बा गुणवान शुद्ध तपसी पाएँ महायोग्य पो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक