लापसे (लागु पदार्थ सेवन) गरी सवारी साधन चलाउने ३ जना नियन्त्रणमा

लापसे (लागु पदार्थ सेवन) गरी सवारी साधन चलाउने ३ जना नियन्त्रणमा

कपन अनलाइन
काठमाडौं, भाद्र १।

लागुपदार्थ सेवन गरी सवारी साधन साधन चलाउँदै गरेका ३ जना चालकहरुलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ ।

ना ३ ख ७४ १२ नम्बरका भाडा कन्टेनर चालक रसुवाको गोसाईकुण्ड गाउँपालिका ५ का २८ बर्षीय सबिन तामाङ, बाग्मती प्रदेश ०६-००१ क ०१५३ नम्बरका ट्रक चालक चितवनको भरतपुर महानगरपालिका १७ का ३६ वर्षीय विनोद विश्‍वकर्मा र बाग्मती प्रदेश ०६-००१ ज ०२७१ नम्बरका माईक्रो चालक नवलपरासी बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका ४ का २८ वर्षीय पवन सापकोटालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूको पिसाव, Drugs kit मा राखेर चेक गर्दा लागुपदार्थ सेवन गरेको प्रमाणित भएको थियो ।

प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तर रुपमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी साधनका चालकहरूले नशालु पदार्थ सेवन गरे/नगरेको चेक गर्दै आएको छ । नागढुङ्गामा १० ओटा सवारी साधनलाई चेक गर्दा ३ ओटा सवारी साधनका चालकले भने लागुपदार्थ सेवन गरेको पाइएको हो ।

नियन्त्रणमा आएका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट बुझाइएको छ  ।

चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा नियम विपरीत तथा दण्डनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी  उपरीक्षक बिश्वराज खड्काले बताए   ।

सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनमा सहजिकरण गर्नका लागी ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लापसे, मापसे, यान्त्रिक चेकिङ लगायतका विशेष चेकिङहरु गर्दै आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी  उपरीक्षक बिश्वराज खड्काले जानकारी दिएका छन  ।

तपाइँको प्रतिक्रिया ।