धर्म निरपेक्षता कायमै राख्नुपर्ने माग गर्दै नयाँ बानेश्वर क्षेत्रमा धर्ना

काठमाडौँ, ४ भदौ । विभिन्न धर्मका अनुयायीहरुले अन्तरिम संविधान, २०६३ मा व्यवस्था भए अनुसार नयाँ संविधानमा पनि ‘धर्म निरपेक्षता’लाई कायमै राख्नुपर्ने माग गर्दै आज दिनभर नयाँ बानेश्वर क्षेत्रमा धर्ना दिए ।

बौद्ध, किराँत, इस्लाम, ख्रिष्टियन, बोनधर्मसम्बद्ध धर्मावलम्बीहरुले जाति समुदायगत पहिचानमा आधारित सङ्घीयता, समानुपातिक समावेशी प्रतिनिधित्वलगायत उत्पीडित जाति समुदायको अधिकारलाई संविधानमा स्थापित गर्न दबाब स्वरुप धर्ना कार्यक्रम गरेका हुन् । सोही क्षेत्रमा उनीहरु भोलि पनि यसरी नै धर्नामा बस्ने कार्यक्रम छ ।

अखिल नेपाल भिक्षु महासङ्घका महासचिव भिक्षु कोण्डन्यले संविधानमा धार्मिक स्वतन्त्रता मात्र भएर विविध धर्मका अनुयायीहरुको भावना मुखरित नहुने भएकाले अन्तरिम संविधानमा व्यवस्था भएअनुसार ‘धर्म निरपेक्षता’ नै कायम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका तर्फबाट डा महेशमान श्रेष्ठले नयाँ बन्ने संविधानमा सबै भाषाभाषी, जनजातिको पहिचान र अधिकारलाई स्थान दिइनुपर्ने बताउनुुभयो ।

धर्नामा आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपाल, संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समिति, राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धन, समृद्ध मधेश नागरिक अभियान, खसान राष्ट्रिय सङ्घर्ष समितिको पनि सहभागिता रहेको थियो । धर्ना कार्यक्रममा सहभागी सबै धर्मावलम्बीले आ–आफ्नो धर्म अनुसारका पोशाक लगाएका थिए । उनीहरुले आ–आफ्नो धर्म झल्काउने झण्डा समेत बोकेका थिए ।

तपाइँको प्रतिक्रिया ।