गिनिज वल्र्ड रेकड कायम गर्न सफल – पुस्कर नेपाल
काठमाडौँ, ४ भदौ । सिन्धुपाल्चोकस्थित माङ्खा गाविस–४ का पुस्कर नेपालले आफ्नै खुट्टाले १४४ पटक निधारमा हान्दै गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका छन् ।
टिथ्री थकाली ग्रुपले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष विवेक तुलाचनले गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका नेपाललाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।
नेपालले अमेरिकाको नागरिकको नाममा रहेको रेकर्डलाई ब्रेक गर्दै आफ्नो नाममा नयाँ कीर्तिमान कायम गरेका हुन् । अमेरिकाको नागरिक जोन लेन्डिकरले सन् २०१३ मा १२७ पटक खुट्टाले निधारमा हन्दै गिनिज वल्र्ड रेकर्डमा नाम लेखाएका थिए ।
उन्नाइस वर्षीय नेपालले गिनिज वल्र्ड रेकर्डमा रहेको अर्को विधा ‘नाकले बेलुन फुक्ने’मा आफूले तयारी गरिरहेको बताए । “धैर्यता र अभ्यास भएमा गिनिज बुकमा नाम लेखाउन सकिन्छ” उनी भन्छन् ।
पुतलीसडकस्थित कान्तिपुर सिटी कलेजमा आयोजित एक कार्यक्रममा नेपाल कराते फेडेरेसनका अन्तर्राष्ट्रिय रेफ्री रामचन्द्र गुरुङ, महानगरीय प्रहरी विट सिंहदरबारका कार्यालय प्रमुख (डिएसपी) सन्तोष खड्का र अधिवक्ता नन्दप्रसाद अधिकारीको अभिमतमा उक्त रेकर्ड गत माघ महिनामा आधिकारिक निकायमा प्रक्रिया सुरु गरिएको थियो ।