पूर्वीय दर्शनका ज्ञाता डा स्वामी प्रपन्नाचार्यको भौतिक शरीर रहेन
पूर्णप्रसाद मिश्र/ काठमाडौँ, ४ भदौ । राईको कुलमा जन्मिएर पनि पूर्वीय दर्शनको गहन अध्ययन एवम् अनुसन्धानमा लाग्नुभएका डा स्वामी प्रपन्नाचार्यको भौतिक शरीर अब रहेन ।
बाल्यकालमा अध्ययनको अवसर नपाई भारी बोकेर जीवन गुजारा गर्नुभएका काले राई उमेर ढल्केपछि अध्ययन सुरु गरेर स्वामी प्रपन्नाचार्य बन्न सफल हुनुभएको थियो । कुनै दिन आफ्नी आमाले कालेले सुनायो भने उसको मुखबाट भागवत कथा सुन्छु भनेपछि उहाँमा ३० वर्ष कटे पनि पढ्ने धोको जागेको थियो । अधवैंसे उमेरमा शिक्षा आरम्भ गरेर पनि शाङ्कर वेदान्त जस्तो जटिल विषयमा उहाँले विद्यावारिधि गर्नुभएको थियो ।
विसं १९९४ देखि उहाँ किरात धर्मका महागुरु फाल्गुनन्दको साथमा लागी जीवन पर्यन्त हिँड्नुभएको थियो । महागुरु फाल्गुनन्दबाट उहाँमा आध्यात्मिक भावनाको विकास भएकाले उहाँ पूर्वीय दर्शनमा आकर्षित हुनुभएको हो ।
रामानुज सम्प्रदायका सन्यासी प्रपन्नाचार्यको आज बिहान ३ः३० बजे पशुपति मृगस्थलीस्थित उहाँ बस्दै आउनुभएको चन्द्रेश्वरसत्तलमा निधन भएको हो । उहाँको पार्थिव शरीरलाई अहिले आश्रममै श्रद्धाञ्जलिका लागि राखिएको शिष्य हरिप्रसाद सोडारीले जानकारी दिनुभयो ।
उहाँ विसं २०४५ देखि पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको चन्द्रेश्वर सत्तलमा आश्रम बनाई बस्दै आउनुभएको थियो । उहाँको निधनपछि आजै बिहान कोष र उहाँका शिष्यको आश्रममा बसेको बैठकले शुक्रबार साँझ ५ बजे मृगस्थलीस्थित सत्तल परिसरमा समाधिस्थ गर्ने निर्णय गरेको छ ।
विसं १९७९ मा पाँचथर जिल्लाको फिदिम–८, लालीखर्क वरडाँडामा पिता खड्गबहादुर (धने) राई र माता दिलमाया राईको कोखबाट उहाँको जन्म भएको थियो । प्रपन्नाचार्यसँग लामो समय गाउँगाउँ घुम्नुभएका योग र प्राकृतिक चिकित्सा क्षेत्रमा क्रियाशील डा हरिप्रसाद पोखरेल उहाँमा विद्या र बोधको संयोग पाएको सुनाउनुहुन्छ । “उहाँमा प्राच्यशास्त्रका जटिल ग्रन्थलाई सबैले बुझ्ने गरी लोकलयमा उतार्ने क्षमता थियो, ‘वेदमा के छ ?’ यसको उत्कृष्ट नमुना हो”–उहाँले भन्नुभयो ।
साधनालाई निष्काम कर्मयोगका रुपमा लोककल्याणको काममा लगाउनु उहाँको विशिष्टता थियो । त्यो उचाइमा पुगेर पनि प्रपन्नाचार्य सरलताको पर्यायवाची बन्नुभएको डा पोखरेलको ठम्याइ छ । “उहाँसँग गाउँ घुम्नेक्रममा भोकको तृप्तिमा हिँड्दा विद्यामार्ग मिल्यो भनी प्रपन्नाचार्यले आफ्नो जीवनको भोगाइ बताउनुभएको थियो”–२५ वर्षअघि सँगै गाउँगाउँ घुम्दाको घटना सम्झँदै डा पोखरेलले भन्नुभयो ।
सुरुमा शैव र वैष्णवमा फरक नदेख्ने जोस्मनी सम्प्रदायमा भए पनि पछि उहाँ रामानुज सम्प्रदायबाट दीक्षित हुनुभएको थियो । सादा जीवन उच्च विचारका धनी स्वामीको जीवन र ग्रन्थका विषयमा धेरैले शोध अनुसन्धान गर्नसक्ने डा पोखरेलको भनाइ छ । साधु भएर धन र वैभव कमाउने होड चलिरहेका बेला शिक्षा र साधनामा समर्पित सच्चा साधुको परिचय बनाउन प्रपन्नाचार्य सफल बन्नुभएको उहाँको विश्लेषण छ ।
कोषका सदस्य सचिव डा गोविन्द टण्डन विसं १९७९ असोजमा जन्मनुभएका डा स्वामी प्रपन्नाचार्यले विसं २०१० मा मात्र कखरा सुरु गरी सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट शाङ्कर वेदान्त विषयमा विद्यावारिधि गर्नुभएका उदाहरणीय व्यक्तित्वका रुपमा लिएको बताउनुहुन्छ ।
“राईको छोरालाई संस्कृत पढ्ने वातावरण नमिलेपछि वनारसमा सरस्वती नाम गरेकी शिक्षिकाले आफू पढाउने विद्यालयमा लगी पढाउनुभएको थियो, विसं २०३७ सम्म भारतका विभिन्न तीर्थस्थल घुमी उहाँले पूर्वीय दर्शनका विषयमा अध्ययन अनुसन्धान गर्नुभएको थियो”–डा टण्डनले भन्नुभयो ।
उहाँका चार दर्जन कृतिमध्येमा ‘वेदमा के छ ?’, ‘मिल्केका झिल्का’ र ‘प्राचीन किरात इतिहास’लगायतका कृति बढी प्रसिद्ध छन् । उहाँले संस्कृत र पूर्वीय दर्शनका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै गत वर्ष नेपाल संस्कृत विश्वविद्यालयले महाविद्यावारिधि उपाधि दिएको थियो ।
राज परिषद् स्थायी समितिका सदस्यसमेत रही सक्नुभएका प्रपन्नाचार्यले पु¥याउनुभएको योगदानको कदर गर्दै नेपाल सरकारले मासिक रु ३० हजार उपलब्ध गराउने निर्णय गरेकोमा त्यो नपाउँदै उहाँको देहावसान भयो । कोषले भने विसं २०७१ साउनदेखि उहाँलाई मासिक रु १० हजार र उहाँका एकजना सहयोगीलाई मासिक तीन हजार उपलब्ध गराउँदै आएको थियो ।
त्रियान्नब्बे वर्षीय प्रपन्नाचार्य लामो समयदेखि श्वासप्रश्वास र पिसाबसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । “बिहीबार बेलुकी पनि राम्रोसँग कुराकानी गरी खानपिन गरी सुत्नुभएका स्वामी बिहान ३ः३० बजे हामीमाझ रहनुभएन”–शिष्य सोडारीले भन्नुभयो । रासस