महानायिका : अविचल आस्था मणि (कविता )

महानायिका : अविचल आस्था मणि (कविता )

कपन अनलाइन

काठमाण्डौ,असार १५।

ऐनामा मनको म हेर्छु कविता बन्छिन् महानायिका
आफैं कोकिल कण्ठ शुद्ध प्रतिभा बन्छिन् जहाँ गायिका
प्रत्युत्पन्न विचार शान्त सुषमा देखिन्छ आल्हादित
आत्मानन्द दिलाउनेछ सजिलो संयन्त्र मर्यादित ।।१।।

निस्कन्छिन् मधुमासमा प्रकृतिको उद्यानमा कोइली
पस्कन्छिन् मन भावना सहृदयी उत्सर्गमा चोइली
गर्छिन् प्रश्न दिएर उत्तर स्वयं स्वेच्छा महानायिका
उन्कै वृत्त घुमेर हाँस्छ सुखमा यो काव्य आख्यायिका ।।२।।

उड्छिन् व्योम कटेर वेग बलियो आकाशगङ्गा पर
आँखा डाक्दछ प्रेम मग्न मनले ऊर्जा थपी उर्वर
आद्योपान्त विचार सार सुषमा संक्षेपमा विस्तृत
पोख्ने कौशल देखियो उधुमको व्याख्यान आविष्कृत ।।३।।
होला भोज प्रबन्ध शिष्ट मलिलो कल्याणमा पोषक

तर्सन्छन् व्यभिचार भ्रष्ट यसमा संसारका शोषक
ल्याएकी उपचार मन्त्र कलिलो मुस्कानमा शोडसी
वार्तालाप हुनेछ लक्ष्य गहिरो उच्चा कलाको कसी ।।४।।

गर्दा प्रश्न जवाफ मिल्छ सुखको बाँडेर सञ्जीवनी
सादा जीवन उच्च सोच क्षमता सम्भावना जीवनी
यस्तो मग्न निमग्न काव्य पथमा खुल्छिन् महानायिका
चिन्तामुक्त बनून् सबै विषयमा उत्कृष्ट अध्यापिका ।।५।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।